Rashtriya Dainik

गढीमाई मन्दिरमा दर्शन गर्दै रास्वपा उम्मेदवार अरविन्द साहद्वारा चुनावी अभियानको औपचारिक सुरुवात

बारा,१२ माघ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ई. अरविन्द साहले विश्वप्रसिद्ध गढीमाई मन्दिरमा दर्शन गर्दै आफ्नो चुनावी अभियानको औपचारिक सुरुवात गरेका छन्।
सफल उद्यमी तथा व्यवसायीका रूपमा परिचित साह देशकै अग्रणी डिजिटल वालेट एप ‘खल्ती’ का सञ्चालक हुन्। उनले हजारौँ युवालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको उल्लेख गर्दै यसपटक रोजगारी सृजना, स्वास्थ्य सेवा सुधार, शिक्षा सुधार र समग्र आर्थिक समृद्धिलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको बताएका छन्।
अभियानको सुरुवाती कार्यक्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) का दाजु कौशलेन्द्र शाह पनि सहभागी थिए। मन्दिर दर्शनपछि स्थानीय बासिन्दासँगको अन्तर्क्रियामा कौशलेन्द्र शाहले विकास, परिवर्तन र समृद्धिका लागि रास्वपालाई जिताउन आग्रह गर्दै इतिहासमै पहिलो पटक मधेसी समुदायका व्यक्तिलाई प्रधानमन्त्री बनाउने अवसर दिनुपर्ने बताए।
उनले काठमाडौँ महानगरपालिकामा मेयर बालेन्द्र शाहले तीन वर्षको कार्यकालमा विभिन्न अवरोधका बाबजुद देखाएको परिवर्तनको उदाहरण प्रस्तुत गर्दै भने, “प्रधानमन्त्री बनेपछि देशले नै काँचुली फेर्नेछ।”
उम्मेदवार साहले बाराको समृद्धि र पहिचान पुनःस्थापनाका लागि आफ्नो उम्मेदवारी केन्द्रित रहेको बताए। उनले भने, “इतिहासमा बारा जिल्लाको नाम सुवर्ण अक्षरमा लेखिएको थियो, तर आज त्यो पहिचान क्रमशः धुमिल हुँदै गएको छ।”
साहले विश्वप्रसिद्ध महागढीमाई मन्दिर क्षेत्रको विकासका लागि अहिलेसम्म ठोस योजना नआएकोमा दुःख व्यक्त गर्दै मन्दिरको संरक्षण, प्रचार–प्रसार र प्रवर्द्धन गरी यसलाई पर्यटकीय हबका रूपमा विकास गर्न सके जिल्लाको आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखे।
यसैबीच, सोही दिन उम्मेदवार साहले बारा जिल्लाको कलैया उपमहानगरपालिका–२६ स्थित बाबा कवरथुवा बाबाबाट आशीर्वाद ग्रहण गर्दै चुनावी भेटघाटलाई निरन्तरता दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित