पर्सा, माघ १० पर्सा जिल्लाको कालिकामाइ गाउँपालिकामा अवस्थित श्री कालिका एकाडेमी स्कूलले आफ्नो दशौँ वार्षिकोत्सव शनिबार भव्यताका साथ मनाएको छ। वार्षिकोत्सवको अवसरमा विद्यालयले विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रमको आयोजना गरेको थियो। विद्यालयले आयोजना गरेको विशेष कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन, वादविवाद प्रतियोगिता, सामूहिक नाटक (ड्रामा), सामाजिक सन्देशमूलक प्रस्तुति तथा शिक्षक सम्मान कार्यक्रम प्रस्तुत गरेका थिए, जसले उपस्थित अभिभावक तथा अतिथिहरूको ध्यान आकर्षित गरेको थियो। विद्यालयका सभापति राजकुमार चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कालिकामाइ गाउँपालिका वडा नम्बर–२ का वडा अध्यक्ष सोनालाल चौरसियाले उद्घाटन गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो। प्रमुख अतिथि चौरसियाले विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिका तथा सम्पूर्ण टिमको कडा मेहनतको प्रशंसा गर्दै विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, नाटक तथा सामाजिक सन्देशमूलक कार्यक्रम अत्यन्त प्रभावशाली रहेको बताउनुभयो। उहाँले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयलाई आग्रह गर्दै अभिभावकहरूको सहयोगप्रति पनि धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा लालबाबु प्रसाद चौरसिया, PABSON नगर समितिका सदस्य राहुल श्रीवास्तव, अमित आलोक, आलोक चौरसिया, विजय बल्ल, शनि पाख्रिनलगायतको उपस्थिति रहेको थियो। सो अवसरमा “कलमभन्दा तरवार ठूलो” शीर्षकमा आयोजित वादविवाद प्रतियोगितामा कक्षा ६ की गुडिया खातुन प्रथम, कक्षा ५ की अर्चना चौरसिया द्वितीय र युराज बर्नाबाल तृतीय भएका थिए। अन्य सहभागी विद्यार्थीहरूलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। अतिथिहरूलाई सम्मान पत्र प्रदान गर्नुका साथै विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई मेडल, शिल्ड र प्रमाणपत्र वितरण गरिएको विद्यालयका सभापति राजकुमार चौरसियाले जानकारी दिनुभयो। वादविवाद प्रतियोगिताको निर्णायक मण्डलमा श्री जनता माध्यमिक विद्यालयका शिक्षक देवबहादुर दाङी र पवन शर्मा रहनुभएको थियो। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका, सञ्चारकर्मीलगायतको उल्लेखनीय सहभागिता रहेको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।