आरपि उपाध्याय /नवलपुर, माघ १० श्री परमार्थ साधना सत्संग्राश्रम (कोटीहोम) विनयी त्रिवेणी–६, नवलपुरको ३२औँ वार्षिक साधारणसभा त्रिवेणी धाममा सम्पन्न भएको छ। सत्संग्राश्रमका अध्यक्ष मोतीलाल उपाध्यायको अध्यक्षता तथा सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो। सो अवसरमा प्रमुख अतिथि उपाध्यायले आस्था र धर्म सबैको साझा धार्मिक मुक्तिको मार्ग भएको उल्लेख गर्दै यस्ता पुण्य कार्यमा सबैको दृष्टि, सहयोग र सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले आफू सुस्ता गाउँपालिकाको नेतृत्वमा रहे पनि त्रिवेणी धामजस्तो धार्मिक स्थलको विकासमा आफ्नो पनि जिम्मेवारी रहेको भन्दै धार्मिक तथा पुण्य कार्यका लागि सधैं सहयोग गर्न तयार रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्यका उत्तराधिकारी स्वामी कृष्ण प्रपन्नाचार्यले आफू सधैं धर्म र न्यायको पक्षमा काम गर्ने व्यक्ति भएको उल्लेख गर्दै अधर्म र अहंकारी तत्वविरुद्ध निरन्तर संघर्ष गर्दै आएको बताउनुभयो। त्यसैगरी धार्मिक व्यक्तित्व सत्यदेव पाण्डेले ईश्वरीय कार्यका लागि गरिने पुण्य कर्मको सदैव सफलता हुने उल्लेख गर्दै त्रिवेणी धामलगायत अन्य धार्मिक क्षेत्रमा सञ्चालन हुने गतिविधिमा आफू र आफ्नो निकायको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा नारायणी–गण्डकी साधारण तथा संस्कृत माध्यमिक विद्यालय त्रिवेणीका प्रधानाध्यापक दिनेशकुमार पाण्डे, राधाकृष्ण मन्दिरका उत्तराधिकारी स्वामी ध्रुवशरण ढुंगाना, समाजसेवी वीरबहादुर ठकुरी, चिरञ्जीवी ढुंगानालगायतले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो। साधारणसभामा सत्संग्राश्रमका अध्यक्ष मोतीलाल उपाध्यायले अध्यक्षीय प्रतिवेदनसहित संस्थाको आय–व्यय विवरण प्रस्तुत गर्नुभयो। हाल सत्संग्राश्रममा २८ जना बटुकहरू अध्ययनरत रहेको जानकारी आयोजकले दिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।