आरपि उपाध्याय / नवलपरासी, ९ माघ सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय चन्द्रौटा, कपिलवस्तुको आयोजनामा २५ औं सशस्त्र प्रहरी दिवस २०८२ रजत महोत्सवको अवसरमा सञ्चालन गरिएको पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रमअन्तर्गत झण्डा हस्तान्तरण समारोह पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–गुदरियामा सम्पन्न भएको छ। सशस्त्र प्रहरी दिवसको अवसरमा २०८२ पौष २० गते गड्डा चौकी, कञ्चनपुरबाट शुभारम्भ भएको झण्डा मार्च कार्यक्रमअन्तर्गत झण्डा पौष ९ गते एक विशेष कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो। विन्ध्यावासिनी बाहिनी मुख्यालयका प्रतिनिधि तथा सीमा सुरक्षा तालिम केन्द्र बर्दघाटका समादेशक तिर्थराज पौडेलले सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराका सहायक बाहिनीपति टोपबहादुर खनाललाई झण्डा हस्तान्तरण गर्नुभएको थियो। झण्डा हस्तान्तरण समारोहमा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले पुर्याएको योगदान प्रशंसनीय रहेको बताउँदै सीमा सुरक्षा तथा राजस्व चुहावट नियन्त्रणमा बलको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले लामो दूरी पैदल यात्रा गर्दै सम्पन्न गरिएको झण्डा हस्तान्तरण कार्यक्रमले शान्ति र सुरक्षाको बलियो सन्देश दिएको बताउनुभयो। विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले सशस्त्र प्रहरी बलले विभिन्न चुनौती पार गर्दै नागरिकको विश्वास जित्न सफल भएको धारणा राख्नुभयो। सो अवसरमा मुक्तिनाथ बाहिनीका सहायक गुल्मपति टोपबहादुर खनालले २५ वर्षदेखि जनताको सेवा र सुरक्षामा समर्पित सशस्त्र प्रहरी बलले राष्ट्रले दिएको जिम्मेवारी मन, कर्म र वचनले निर्वाह गर्दै आएको बताउनुभयो। कार्यक्रममा सीमा सुरक्षा तालिम केन्द्र बर्दघाटका समादेशक तिर्थराज पौडेलले सुदूरपश्चिमबाट आएको टोली पर्साको ठोरीमा पुगेर झण्डा मार्चको समापन गर्ने जानकारी दिँदै नागरिकको जिउधनको सुरक्षा संगठनको प्रमुख दायित्व भएको स्पष्ट पार्नुभयो। यसै क्रममा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा गण्डक ब्यारेज पुलको मध्यभागमा रहेको १८ नम्बर ढोकामा पुग्दा भारतीय अर्धसैनिक बल एस.एस.बी. २१ औं बटालियनका डिप्टी कमाण्डेन्ट अजय कुमार सिंह, विशाल कुमार तथा सहायक कमाण्डेन्ट अवधेश कुमारसहितको टोलीले नेपाली टोलीलाई स्वागत गर्दै आपसी सम्मानसहित मायाको चिनो आदान–प्रदान गरेको सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गुल्मका गुल्मपति लक्ष्मण बरालले जानकारी दिनुभयो। सशस्त्र प्रहरी बल नेपालद्वारा सञ्चालन गरिएको झण्डा मार्च पासको समापन आगामी माघ ११ गते पर्साको ठोरीमा गरिने आयोजकले जनाएको छ। कार्यक्रममा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश यादव, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, २६ नम्बर गणका गणपति सन्तोष रायमाझीलगायतको उपस्थिति रहेको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।