कृष्ण यादव / वीरगन्ज, ९ माघ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको मध्यावधि निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी माहोल तातिँदै गएको छ। सडक, चोक, चिया पसलदेखि सामाजिक सञ्जालसम्म चुनावी बहसले प्राथमिकता पाएको छ। दलहरूले उम्मेदवार टुंग्याइसकेका छन् भने नेता–कार्यकर्ता मतदाताको मन जित्न मैदानमा उत्रिएका छन्। यस निर्वाचन क्षेत्रमा पूर्व मन्त्री, पूर्व सांसद तथा प्रदेशसभा सदस्यसहित एक दर्जनभन्दा बढी उम्मेदवारी परे पनि मुख्य प्रतिस्पर्धा सात जनाबीच सीमित देखिएको छ। कांग्रेस: संगठन बलियो, उम्मेदवार विवादित नेपाली कांग्रेसबाट अजय चौरसिया उम्मेदवार बनेका छन्। तीन पटक सांसद र दुई पटक मन्त्री भइसकेका चौरसिया यस क्षेत्रका पुराना र अनुभवी नेता हुन्। क्षेत्र नम्बर २ कांग्रेसको परम्परागत किल्ला मानिए पनि विकासमा ठोस उपलब्धि नदेखिएको आरोपका कारण उनी पार्टीभित्रै आलोचित छन्। कांग्रेसकै नेता राजेश्वर साह तेलीले स्वतन्त्र उम्मेदवारी दिएपछि चौरसियाको जित चुनौतीपूर्ण बनेको विश्लेषण भइरहेको छ। एमाले: नयाँ अनुहार, संगठनभित्र असन्तुष्टि नेकपा एमालेबाट रिमा यादव उम्मेदवार रहेकी छन्। मधेसी दल छोडेर एमाले प्रवेश गरेकी यादव नयाँ अनुहार भए पनि स्थानीय रूपमा पारिवारिक पकड रहेको बताइन्छ। तर पार्टीभित्रै टिकट वितरणलाई लिएर असन्तुष्टि देखिएकाले उनको विजय सहज देखिँदैन। नेकपा (एकीकृत समाजवादी): अनुभव र युवामाझ पकड नेकपा (एकीकृत समाजवादी)बाट मनोज चौधरी उम्मेदवार छन्। ५१ वर्षे चौधरी पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्। विद्यार्थी राजनीतिबाट उदाएका उनी माधव नेपाल निकट मानिन्छन्। युवामाझ राम्रो पकड भए पनि कांग्रेसका अनुभवी उम्मेदवारसँगको प्रतिस्पर्धा उनलाई कठिन हुने देखिन्छ। रास्वपा: युवाको आकर्षण, संगठन चुनौती राष्ट्रिय स्वतन्त्र पार्टीबाट शुशिल साह कानु उम्मेदवार छन्। वीरगन्ज महानगरपालिका–१० का वडाध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका कानु ४० वर्षका युवा नेता हुन्। देशव्यापी रूपमा रास्वपाप्रति देखिएको लहरले उनलाई बलियो बनाएको छ, तर नयाँ दल भएकाले संगठन कमजोर हुनु मुख्य चुनौती हो। जसपा नेपाल: व्यापारी पृष्ठभूमि, संगठन कमजोर जसपा नेपालबाट अशोक टेमानी उम्मेदवार छन्। उद्योगी–व्यापारी पृष्ठभूमिका टेमानी मारवाडी समुदायको बाहुल्यता रहेको क्षेत्रमा प्रभावशाली मानिन्छन्। २०७४ मा यस क्षेत्रबाट जसपाले जित हासिल गरेको इतिहासले उनलाई पनि प्रतिस्पर्धीको सूचीमा राखेको छ। स्वतन्त्र: संगठन छैन, व्यक्तिगत पकड कांग्रेसका वागी उम्मेदवार राजेश्वर साह तेली स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएका छन्। २०७४ मा प्रदेशसभा सदस्य निर्वाचित तेलीको उम्मेदवारीले कांग्रेसको मत विभाजन हुने अनुमान गरिएको छ। राप्रपा: अनुभवी तर कमजोर संगठन राप्रपाबाट बिना जयसवाल उम्मेदवार छन्। उनी २०७९ मा समानुपातिक सांसद बनेकी थिइन्। संगठन कमजोर भए पनि राजनीतिक अनुभवका कारण प्रतिस्पर्धाबाट बाहिर छैनन्। निर्णय मतदाताको हातमा सात धारको यो चुनावी भिडन्तमा अन्ततः एक जनामात्र संसद पुग्नेछन्। पुरानो समीकरण दोहोरिन्छ कि नयाँ राजनीतिक इतिहास लेखिन्छ, यसको अन्तिम फैसला अब पर्सा–२ का मतदाताले गर्नेछन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।