आरपि उपाध्याय / नवलपरासी , ७ माघ नेपाल निवृत्त शिक्षक समाज विनयी त्रिवेणीको पाँचौँ साधारणसभा तथा दोस्रो अधिवेशन बुधबार पूर्वी नवलपरासीको दुम्किबासमा सम्पन्न भएको छ। कार्यक्रम समाज विनयी त्रिवेणीका अध्यक्ष बालकृष्ण भुसालको अध्यक्षता तथा समाजका जिल्ला उपाध्यक्ष शालिकराम तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि तिमिल्सिनाले सेवा निवृत्त शिक्षकहरूको त्याग, तपस्या र संघर्षको जगमै आज शिक्षकहरूले राज्यबाट विभिन्न सुविधा पाएको उल्लेख गर्दै आगामी दिनमा पनि निवृत्त शिक्षकसँग रहेको क्षमता, अनुभव र ऊर्जालाई सदुपयोग गर्न सकिए सुखद परिणाम आउनेमा जोड दिनुभयो। त्यसैगरी नेपाल निवृत्त शिक्षक समाज नवलपुरका सचिव यमलाल कँडेलले निवृत्त शिक्षकहरूले आफ्नो वर्गीय आदर्शलाई जोगाउँदै समाजलाई अझ सशक्त बनाउन सहमति, सहकार्य र एकतालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा समाजका पालिका अध्यक्ष भुसालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै विगतमा विनयी त्रिवेणी गाउँपालिकासँग समन्वय गरी सामाजिक क्रियाकलापअन्तर्गत विभिन्न महत्वपूर्ण कार्यहरू सम्पन्न गरिएको जानकारी दिनुभयो। २०५७ सालमा स्थापना भएको नेपाल निवृत्त शिक्षक समाजले संगठन विस्तारसँगै सेवा निवृत्त शिक्षकहरूको तथ्यांक संकलन गर्दै समाजमा आबद्धताको प्रक्रिया निरन्तर अघि बढाउँदै आएको बताइएको छ। “निवृत्त शिक्षक हकहित र प्रवर्द्धन, शैक्षिक विकास र सामाजिक रूपान्तरणमा ऐक्यबद्धता” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा बासुदेव रेग्मी, आर.पी. उपाध्यायलगायतले समाजका गतिविधिमाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रम सञ्चालन समाजका सचिव खेमराज तिमिल्सिनाले गर्नुभएको थियो। दोस्रो अधिवेशनले खेमराज तिमिल्सिनाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। जसअनुसार उपाध्यक्षमा मञ्जु जी.सी., सचिवमा बालकृष्ण न्यौपाने, कोषाध्यक्षमा रामबहादुर जी.सी. तथा सदस्यहरूमा राजेन्द्र रेग्मी, विष्णुबहादुर पछाई, गणेश गुरुङ र जमुना कुमारी बस्याल चयन हुनुभएको छ। त्यसैगरी भेलाले तुलसीप्रसाद रेग्मीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरेको छ, जसका सदस्यहरूमा जमुना बस्याल र राजेन्द्र रेग्मी रहनुभएको निर्वाचन समितिले जनाएको छ। भेलाले ५ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ। सल्लाहकार समितिमा बालकृष्ण भुसाल, मोहनलाल कलवार, भुवानन्द भुसाल, आर.पी. उपाध्यायलागायत रहनुभएको जानकारी दिइएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।