आरपि उपाध्याय / नवलपरासी ,६ माघ नवलपरासी (बर्दघाट) — आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नवलपरासी (ब.सु.प.) निर्वाचन क्षेत्र नम्बर–१ बाट दुई दर्जनभन्दा बढी राजनीतिक दलका उम्मेदवारहरूले आफ्नो मनोनयन पत्र दर्ता गराएका छन्। बर्दघाट नगरपालिका परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ता प्रक्रिया साँझ ६ बजेसम्म सञ्चालन गरिएको थियो। प्रतिनिधि सभा प्रत्यक्षतर्फको निर्वाचनका लागि विभिन्न साना–ठूला राजनीतिक दलका प्रतिनिधिहरूले मनोनयन पत्र दर्ता गराएको सूचना अधिकृत प्रेमनारायण पराजुलीले जानकारी दिनुभयो। प्राप्त विवरणअनुसार नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, श्रम स्वीकृति पार्टीलगायत कुल २७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन्। मनोनयन दर्ताका क्रममा दलका प्रतिनिधि तथा शुभेच्छुकहरूको समूह झण्डा–ब्यानरसहित नाराबाजी गर्दै निर्वाचन कार्यालयको गेटसम्म पुगेका थिए। सुरक्षा व्यवस्थाका कारण मुख्य गेटबाट दलका प्रतिनिधि र सीमित नेताकार्यकर्ता मात्र निर्वाचन कार्यालयभित्र प्रवेश गरेको जनाइएको छ। नेपाली कांग्रेसका उम्मेदवार बिनोद कुमार चौधरीले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै कांग्रेस अब फरक ढङ्गले अगाडि बढ्ने बताउनुभयो। उहाँले परिणाममुखी कार्यक्रमसहित जनतामाझ जाने, ५० प्रतिशतभन्दा बढी युवा उम्मेदवार अघि सारिएको र युवालाई सशक्त बनाउँदै नयाँ सोचका साथ गन्तव्यमा पुग्ने अठोटका कारण उम्मेदवारी दिएको बताउनुभयो। साथै, विगत तीन वर्षका उपलब्धि र कमजोरीहरूको समीक्षा गर्दै निर्वाचन क्षेत्रको मुहार फेर्ने अवसर पाएको धारणा राख्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिक्रम खनालले सुशासन कायम गर्ने र भ्रष्टाचार उन्मूलन गर्ने उद्देश्यका साथ उम्मेदवारी दिएको प्रतिक्रिया दिनुभयो। यस्तै, नेकपा एमालेका उम्मेदवार रामप्रसाद पाण्डेले “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने मूल नारालाई साकार पार्ने अठोटका साथ उम्मेदवारी दिएको बताउँदै आफू यही माटो र भूगोलमा जन्मेर हुर्किएको व्यक्ति भएकाले जनताको सेवा गर्न मैदानमा उत्रिएको उल्लेख गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नवनित कुमार मिश्राले देशको वर्तमान प्रमुख एजेन्डा राजसंस्थाको आवश्यकता, प्रदेश संरचना खारेजी, धार्मिक द्वन्द्वको अन्त्य र स्थानीय तहलाई बलियो बनाउने विषय रहेको बताउँदै ती उद्देश्य पूरा गर्न प्रतिनिधि सभामा उम्मेदवारी दिएको धारणा राख्नुभयो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।