राष्ट्रिय दैनिक /नवलपरासी ,६ माघ नेकपा एमालेले नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार परिवर्तन गर्दै चुनावी रणनीतिमा नयाँ मोड ल्याएको छ। यसअघि जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवलाई दिइएको टिकट फिर्ता गर्दै पार्टीले लेखनाथ खरेललाई उम्मेदवार बनाएको हो। मनोनयन दर्ताको समय नजिकिँदै गर्दा गरिएको यो निर्णयलाई एमालेले राजनीतिक र भौगोलिक समीकरणसँग जोडेर व्याख्या गरेको छ। टिकट पाएका यादवले मनोनयनकै दिन पदबाट राजीनामा दिने तयारी रहेको बताएका थिए। सुनवल नगरपालिका–१२, भूमही निवासी खरेल नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा संघीय निर्वाचन क्षेत्र इन्चार्जको जिम्मेवारीमा रहँदै आउनुभएको छ। अन्य दलका उम्मेदवारहरूको भौगोलिक प्रभाव र समग्र राजनीतिक वातावरणलाई मूल्यांकन गर्दै खरेललाई अघि सारिएको जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो। नवलपरासी–२ मा यसपटक प्रतिस्पर्धा निकै रोचक देखिएको छ। नेपाली कांग्रेसबाट देबेन्द्रराज कँडेल, नेकपा (माओवादी केन्द्र)बाट देबेन्द्र पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नरेन्द्रकुमार गुप्ता, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान तथा जसपा नेपालबाट रामबच्चन यादव अहिर उम्मेदवार रहेका छन्। उम्मेदवार परिवर्तनसँगै एमालेले क्षेत्रीय सन्तुलन र संगठनात्मक पकड मजबुत बनाउने संकेत दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।