Rashtriya Dainik

नवलपरासी पश्चिम–१ मा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै

बिनोद निगम | नवलपरासी , ६ माघ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन–२०८२ नजिकिँदै जाँदा नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी सरगर्मी बढ्न थालेको छ। विभिन्न राजनीतिक दलका सम्भावित उम्मेदवारहरू मैदानमा देखिन थालेपछि यस क्षेत्रको राजनीतिक माहोल क्रमशः तातिँदै गएको छ।

हालसम्म सार्वजनिक रूपमा देखिएका तथा राजनीतिक वृत्तमा चर्चामा रहेका उम्मेदवारहरूमा जनता प्रगतिशील पार्टी (जप्रपा) का अध्यक्ष हृदयश त्रिपाठी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बिक्रम खनाल, नेपाली कांग्रेस का बिनोद चौधरी, नेकपा (एमाले) का रामप्रसाद पाण्डे, नेकपा का सिन्धु जलेसा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनित मिश्र तथा उज्यालो नेपाल पार्टी का विजय कण्डेल रहेका छन्।

यी उम्मेदवारहरू आ–आफ्नो राजनीतिक पृष्ठभूमि, संगठनात्मक संरचना र स्थानीय प्रभावका आधारमा चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा रहेको बताइएको छ। ठूला दलसँगै नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूको सक्रिय उपस्थितिले नवलपरासी पश्चिम–१ को निर्वाचनलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।

यद्यपि यी नामहरू मध्ये केही उम्मेदवारको औपचारिक घोषणा तथा उम्मेदवारी दर्ता भने निर्वाचन आयोगको कार्यतालिकाअनुसार आगामी दिनमा हुने भएकाले अन्तिम उम्मेदवार सूचीमा परिवर्तन हुन सक्ने सम्भावना कायमै छ।

यसैबीच क्षेत्रवासीहरू भने कसले उम्मेदवारी पक्का गर्छ र चुनावी एजेन्डा के–के लिएर मैदानमा उत्रिन्छ भन्ने चासोका साथ प्रतीक्षामा रहेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित