खेलकुदले अनुशासन, एकता र स्वस्थ समाज निर्माणमा योगदान गर्छ : अध्यक्ष चाैधरी उमेश बि.क /नवलपरासी ,५ माघ पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ बसहीमा ८ औं वसन्त कप फुटबल प्रतियोगिता सुरु भएको छ। “फुटबल खेलमैदान निर्माणको अभियान, बसहीको गौरवमा तपाईंको योगदान” भन्ने मूल नारासहित आयोजित प्रतियोगिता वसन्त क्लबका अध्यक्ष बिष्णु बहादुर प्रछाईको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै पालिका अध्यक्ष चाैधरीले खेलकुद मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले खेलकुदले शारीरिक, मानसिक तथा स्वास्थ्य सुदृढ बनाउनुका साथै युवालाई दुर्घटना र कुलतबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। सरावल खेलकुदका लागि उर्वर भूमि रहेकाले पालिकाले खेल र खेलाडीको विकासमा विशेष ध्यान दिँदै आएको उहाँको भनाइ थियो। त्यसैगरी सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले खेलाडीको सबैभन्दा ठूलो गहना अनुशासन भएको बताउँदै खेलले युवालाई स्वस्थ राख्नुका साथै कुलतबाट जोगाउने बताउनुभयो। खेलाडीहरूलाई भाइचारा र खेलभावनाका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा बर्दघाटे कालिका मन्दिरका अध्यक्ष एवं समाजसेवी बिरेन्द्र यादवले खेल केवल मनोरञ्जन मात्र नभई अनुशासन, एकता, नेतृत्व र सकारात्मक सोचको विद्यालय भएको उल्लेख गर्नुभयो। ग्रामीण क्षेत्रमा यस्ता प्रतियोगिताले भविष्यका सक्षम खेलाडी उत्पादन गर्ने बलियो आधार तयार गर्ने उहाँको भनाइ थियो। अहिलेका केही युवाहरू मोबाइलको अत्यधिक प्रयोग र कुलततर्फ आकर्षित हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै खेलकुद र सिर्जनात्मक गतिविधिमार्फत युवालाई सकारात्मक दिशातर्फ लैजानु आजको आवश्यकता रहेको उहाँले जोड दिनुभयो। उद्घाटन समारोहमा सरावल गाउँपालिका वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष बुद्धन प्रसाद चाैधरी, वडा नम्बर ४ का वडा अध्यक्ष सुरेश यादव, वडा सदस्यहरू शोभा चाैधरी, गोरेराना मगर लगायतको उपस्थिति रहेको थियो। प्रतियोगितामा प्रथम हुने टोलीलाई १ लाख १५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र, तथा द्वितीय हुने टोलीलाई ५५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। उद्घाटन खेलमा नवलपरासीको सुनवल र बिहारको हर्नाटारबीच भएको प्रतिस्पर्धामा सुनवलले मध्यान्तरपछि शून्यका विरुद्ध ६ गोल गर्दै शानदार जित हासिल गरेको छ। ८ औं वसन्त कप फुटबल प्रतियोगितामा पश्चिम नवलपरासी, पूर्वी नवलपरासी, रुपन्देही र भारतको बिहारबाट गरी १२ वटा फुटबल टोलीको सहभागिता रहेको छ। क्लबका उपाध्यक्ष तथा खेल संयोजक इन्द्रजित भरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन बिष्णु चाैधरीले गर्नुभएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।