काठमाडौं, ५ माघ । तामाङ समुदायले आज आफ्नो नयाँ वर्षको रूपमा मनाइने सोनाम ल्होसार पर्व देशभर विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासका साथ मनाइरहेका छन्। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होसार तामाङ समुदायको सांस्कृतिक पहिचान, परम्परा र मौलिकताको महत्वपूर्ण पर्व हो। तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा यो पर्व विशेष रूपमा धूमधामका साथ मनाइन्छ। पर्वको अवसरमा आज राजधानी काठमाडौंको टुँडिखेल, बौद्ध, स्वयम्भू लगायतका स्थानहरूमा भव्य सांस्कृतिक कार्यक्रम, झाँकी, नाचगान तथा परम्परागत पोशाकसहितको प्रदर्शन गरिएको छ। सोनाम ल्होसारको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भन्ने भएकाले पुरानो वर्षलाई विदाइ गरी नयाँ वर्षको स्वागतका रूपमा यो पर्व मनाइन्छ। यस पर्वले नयाँ ऊर्जा, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने विश्वास गरिन्छ। सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको छ। आजको दिन बिहानै नुहाइधुवाइ गरी शुद्ध भई भूमिपूजा र कुलपूजा गर्ने, घरआँगन लिपपोत गर्ने, बौद्ध गुम्बाहरूमा पूजाअर्चना, दानदक्षिणा दिने, मान्यजनबाट आशीर्वाद लिने तथा शुभकामना आदानप्रदान गर्ने परम्परा छ। साथै, घरमा सेलरोटी, खाप्से जस्ता परम्परागत परिकार बनाएर खाने र नाचगान गरी रमाइलो गर्ने चलन रहेको छ। नेपालमा ल्होसार मनाउने परम्परा चीन तथा चीन प्रशासित क्षेत्रबाट भित्रिएको मानिए पनि तामाङ समुदायले आफ्नै मौलिक चन्द्र पात्रो अनुसार पर्व मनाउने गर्दछन्। महायान सम्प्रदाय अन्तर्गत पर्ने तामाङ समुदायसँगै ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतका जातिहरूले पनि आ–आफ्नो परम्परा अनुसार ल्होसार मनाउँछन्। नेपालका उच्च तथा मध्य पहाडी भूभागका साथै चीन, भारत, भुटान, म्यान्मार, मलेसिया, सिङ्गापुर, मंगोलिया, थाइल्यान्ड, भियतनाम, जापान लगायतका देशमा बसोबास गर्ने तामाङ तथा बौद्धमार्गीहरूले पनि आज सोनाम ल्होसार मनाइरहेका छन्। यस अवसरमा देश–विदेशका बौद्ध विहारहरू ध्वजापताका र पुष्पद्वारले सजाइएका छन्, जसले पर्वको रौनक थप बढाएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।