Rashtriya Dainik

टिकट वितरणमा ओलीको मनपरीको आरोप, एमाले कार्यालयमा ताला

बाजुरा ,४ माघ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर नेकपा एमाले बाजुरामा आन्तरिक असन्तुष्टि सतहमा आएको छ। टिकट वितरणमा युवालाई बेवास्ता गरिएको भन्दै एमाले बाजुराको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ।
एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु बाजुराले संयुक्त रूपमा कार्यालयमा तालाबन्दी गर्दै पार्टी नेतृत्वप्रति कडा असन्तुष्टि जनाएका हुन्। उनीहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले टिकट वितरण गरेको आरोप लगाएका छन्।
युवाहरूका अनुसार पार्टीले नवपुस्तालाई अवसर दिनुको साटो पटक–पटक उम्मेदवार बन्दै आएका पुरानै अनुहारलाई प्राथमिकता दिएको छ। राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीका उपसचिव रामचन्द्र रोकायाले युवाको भावना र योगदानलाई बेवास्ता गर्दै टिकट वितरण गरिएको भन्दै विरोधस्वरूप तालाबन्दी गरिएको जानकारी दिनुभयो।
युवा संघ र अनेरास्ववियुले एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्व महासचिव नरेश रोकायालाई प्रतिनिधिसभा उम्मेदवार नबनाइनु बाजुराका युवामाथिको अन्याय भएको दाबी गरेका छन्। उनीहरूका अनुसार यसपटक नयाँ र सक्षम युवालाई अघि सार्नुपर्ने माग पार्टीले नसुनेको हो।
एमाले केन्द्रीय कमिटीले निर्वाचनका लागि लालबहादुर थापालाई उम्मेदवार सिफारिस गरेपछि असन्तुष्टि चुलिँदै विरोध प्रदर्शन तालाबन्दीसम्म पुगेको हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित