आरपि उपाध्याय /त्रिवेणी, २८ पुस राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय निर्वाचन क्षेत्र नं. १, पश्चिम नवलपरासीको आयोजनामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवस एक कार्यक्रमका बीच मनाइएको छ। कार्यक्रम प्रतापपुर गाउँपालिका–सेमरीमा राप्रपाका नेताकार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागितामा सम्पन्न भएको हो। कार्यक्रम राप्रपा संसदीय निर्वाचन क्षेत्र नं. १ का क्षेत्रीय सभापति नगेन्द्र कुमार कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य नवमीत कुमार मिश्रले पृथ्वीनारायण शाहले विभाजित राज्यहरूलाई एकीकरण गर्दै राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको सशक्त सन्देश दिएको उल्लेख गर्दै उहाँको योगदान वर्तमान समयमै पनि अत्यन्त सान्दर्भिक रहेको बताउनुभयो। शाहको त्याग, तपस्या र अठोटकै कारण नेपालीहरू आज स्वतन्त्र नागरिकको रूपमा पहिचान बनाउन सफल भएको उहाँको भनाइ थियो। सो अवसरमा राप्रपा निर्वाचन समिति संयोजक सुधिर कुमार पाण्डेले दक्षिण एसियामै नेपाल सबैभन्दा पुरानो राष्ट्र भएको उल्लेख गर्दै टुक्रिएको नेपाललाई एक ढिक्का बनाउने महान अभियानका नायक पृथ्वीनारायण शाहको योगदान नेपालीहरूले कहिल्यै बिर्सन नहुने धारणा व्यक्त गर्नुभयो। राप्रपा जिल्ला उपाध्यक्ष मिलन श्रेष्ठले शाह वंशीय राजाबाट राखिएको राष्ट्र निर्माणको जग आजसम्म पनि मजबुत रूपमा कायम रहेको बताउनुभयो। उहाँले दुई छिमेकी ठूला राष्ट्रबाट हुने सीमा अतिक्रमणलाई रोक्न शाह वंशीय राजाहरूको योगदान महत्वपूर्ण रहेको भन्दै वर्तमान पुस्ताले इतिहासबाट सिक्नुपर्ने आवश्यकता औंल्याउनुभयो। कार्यक्रममा स्थानीय तह परिचालन जिल्ला संयोजक टोपबहादुर सिंह ठकुरी, राप्रपा जिल्ला महिला संघकी उपाध्यक्ष सीता राजभर, मदन ज्ञवाली, रामधारी केवट, देवेश कुमार मिश्र, गोविन्द प्रसाद चौधरी, रामचन्द्र चौधरीलगायत वक्ताहरूले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपालको इतिहासमा पुर्याउनुभएको योगदानबारे विचार व्यक्त गर्नुभयो। राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाका नेताकार्यकर्ताहरूले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै पूर्व राजाहरूले राष्ट्र निर्माण र संरक्षणमा पुर्याएको योगदान बिर्सन नहुने भन्दै, देश जोगाउने अभियानमा शाह वंशीय राजाको भूमिका आज पनि सान्दर्भिक रहेको दाबी गरेका थिए। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।