रञ्जीत शर्मा/ नवलपरासी, २७ पुस पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. २ मा अवस्थित जानकी महिला बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। साधारण सभामा संस्थाको गत वर्षको कार्यसम्पादनको समीक्षा गर्दै आगामी वर्षका लागि नयाँ योजना तथा कार्यक्रमहरू प्रस्तुत गरिएको छ। साधारण सभा संस्थाकी अध्यक्ष रमा देवी खरबारको अध्यक्षता तथा वडा नं. २ का वडा अध्यक्ष जगदीश प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुप्ताले सहकारी संस्था देशको आर्थिक विकासको मेरुदण्ड भएको उल्लेख गर्दै यसलाई थप प्रभावकारी बनाउन युवा तथा महिलालाई उद्यमशीलता तर्फ अग्रसर गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले नियमित बचत गर्ने, समयमै ब्याज तथा सावाँ भुक्तानी गर्ने र उद्देश्यअनुसार ऋणको सदुपयोग गर्न सदस्यहरूलाई आग्रह गर्नुभयो। सभामा संस्थाकी व्यवस्थापक उषा देवी गुप्ताले वार्षिक तथा वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँका अनुसार ५३६ जना महिला शेयर सदस्य रहेको यस संस्थाले गत आर्थिक वर्षमा १ करोड ३८ लाख ४ हजार २ सय ६३ रुपैयाँ बराबरको कारोबार गर्दै २ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। संस्थाले महिलाहरूलाई १ करोड ९ लाख ३ सय ६४ रुपैयाँ बराबरको ऋण प्रवाह गरेको छ। गत वर्षको तुलनामा यस वर्ष १ लाख ३० हजार रुपैयाँ बढी नाफा भएको जानकारी पनि उहाँले दिनुभयो। संस्थाले व्यापार कर्जा, घर निर्माण तथा खर्च कर्जा, कृषि, पशुपालन, तरकारी खेती, वैदेशिक रोजगार, ग्रामीण उद्यम तथा बीमा बचत कर्जा लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ। सभामा उपस्थित अतिथिहरूले संस्थाको कामको उच्च प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी र परिणाममुखी काम हुने विश्वास व्यक्त गरे। साथै, संस्थाले महिलाहरूलाई उद्यमशील र रोजगारीमुखी बनाउँदै आत्मनिर्भरता तर्फ डोर्याउनुपर्ने सुझाव दिएका थिए। कार्यक्रममा वडा अध्यक्ष जगदीश प्रसाद गुप्ता, वडा सदस्य आसमा खातुन, समाजसेवी उर्मिला साहनी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य सपना खनालले गर्नुभएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।