आरपि उपाध्याय / त्रिवेणी ,२७ पुस पूर्वी नवलपरासी, विनयी त्रिवेणी–६ मा सञ्चालन भएको प्रथम त्रिवेणी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न भएको छ। त्रिवेणी युवा समाजको आयोजना तथा गण्डकी प्रदेश खेलकुद परिषदको प्रवर्द्धनमा प्रतियोगिता आयोजना गरिएको हो। फाइनल प्रतिस्पर्धामा **भुमही रिकन्डिसन एफ.सी.**ले आयोजक त्रिवेणी युवा समाजलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको छ। उपाधिसँगै भुमही रिकन्डिसन एफ.सी.ले नगद १ लाख रुपैयाँ र ट्रफी हात पारेको खेल संयोजक पवन गुरुङले जानकारी दिनुभयो। उपविजेता बनेको त्रिवेणी युवा समाजले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ। निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटमार्फत तय गरिएको थियो। “वन, वन्यजन्तु तथा वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनका लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा नेपाल र भारतका गरी १० टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा म्यान अफ द सिरिजको उपाधि त्रिवेणी युवा समाजका एलिन थापाले हात पारेका थिए। फाइनल खेलको म्यान अफ द म्याच भुमही रिकन्डिसन एफ.सी.का भिम पुन मगर घोषित भए भने उत्कृष्ट गोलकर्ता त्रिवेणी युवा समाजका अभिषेक पुन मगर रहनुभएको थियो। समापन समारोह त्रिवेणी युवा समाजका अध्यक्ष अमर भट्टराई क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा सहभागी गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले त्रिवेणी धामको पवित्रतालाई आत्मसात गर्दै यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले पोखराबाट विनयी त्रिवेणी हुँदै भारतसम्मको सडक सञ्जाल निर्माणमा राज्य पक्ष र राजनीतिक नेतृत्व उदासीन रहेको उल्लेख गर्दै त्रिवेणीका समस्या हालसम्म प्रतिनिधिसभामा प्रभावकारी रूपमा उठ्न नसकेको जिकिर गर्नुभयो। शर्माले खेलकुदको माध्यमबाट त्रिवेणीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सामूहिक प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिनुभयो। समारोहमा आयोजक क्लबका सल्लाहकार विशाल सिंह भण्डारीले खेलकुद मानिसको पहिचान बनाउने सशक्त माध्यम भएको उल्लेख गर्दै यसबाट व्यक्ति, समाज र क्षेत्रलाई जिल्ला, प्रदेश हुँदै राष्ट्रसम्म चिनाउन सकिने धारणा व्यक्त गर्नुभयो। समापन समारोहमा विनयी त्रिवेणी वडा नं. ६ र ७ का जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेता–कार्यकर्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा ठूलो सङ्ख्यामा दर्शकहरूको उपस्थिति रहेको कार्यक्रम सञ्चालक सरोज आलेले जानकारी दिनुभयो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।