राजन कुमार बानिया/पर्सा, २६ पुस दिब्य बचत तथा ऋण सहकारी संस्था लि., बिरंचीबर्वाले आज आफ्नो २८औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ। साधारण सभा पर्साको पोखरिया नगरपालिकास्थित शिवमन्दिर सभाहलमा आयोजना गरिएको थियो। साधारण सभामा आर्थिक वर्ष २०८१/०८२ का लागि ९ करोड ५२ लाख ८४ हजार २ सय ७३ रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गरिएको थियो। साथै आर्थिक वर्ष २०८२/०८३ का लागि १५ करोड ५६ लाख ७० हजार रुपैयाँ बराबरको वार्षिक कार्यक्रम तथा बजेट संस्थाका लेखा प्रशासनिक अधिकृत बृजकिशोर चौहानले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष उमेश चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन मन्तव्यका क्रममा अध्यक्ष चौहानले संस्थाले हजारौँ महिला तथा पुरुषलाई साक्षर बनाउँदै सहुलियत दरमा ऋण प्रदान गरी रोजगारीमूलक बनाएको उल्लेख गर्नुभयो। संस्थाले बिना धितो लाखौँ रुपैयाँ लगानी गरी कृषि, भैँसी पालन, बाख्रापालन तथा व्यापारजस्ता क्षेत्रमा लगानी गरेर स्थानीय स्तरमै रोजगार सिर्जना गर्दै आएको उहाँको भनाइ थियो। अध्यक्ष चौहानले संस्थाको आम्दानी स्वास्थ्य, शिक्षा, कृषि, सडक तथा मठ–मन्दिरजस्ता सामाजिक क्षेत्रमा लगानी हुँदै आएको दाबी गर्दै सेयरधनीहरूलाई संस्थामाथि विश्वास गरी नयाँ सेयरधनी बन्न आग्रह गर्नुभयो। संस्थाले युवा लक्षित तथा रोजगारीमूलक विशेष योजना ल्याएको जानकारी दिँदै, सहुलियत दरमा ऋण उपलब्ध गराई विशेषगरी महिलालाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो। संस्थाले मोबाइल बैंकिङ सेवा पनि सञ्चालनमा ल्याइसकेको र छिट्टै मुडलीमा शाखा कार्यालय सञ्चालनमा आउने अध्यक्ष चौहानले जानकारी दिनुभयो। संस्थाले सुख–दुःखका बेला सदस्यहरूको साँचो साथी बनेर काम गरिरहेको उहाँको भनाइ थियो। साधारण सभामा समयमै ऋण लिएर समयमै चुक्ता गर्ने उत्कृष्ट सेयर सदस्यहरूलाई गमछा ओढाएर घडी तथा कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै उत्कृष्ट कार्य गर्ने ऋणी, सेयरधनी तथा कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा उपाध्यक्ष सोनालाल कुर्मी, सचिव अनरुद चाई, कोषाध्यक्ष रामाकान्त पटेल, शिक्षक देवनाथ प्रसाद ठाकुर, उमेश बैठा, पत्रकार लालबाबु बानिया, धर्मेन्द्र चौरसिया लगायतले साधारण सभाको सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए। साधारण सभामा सेयरधनी, कर्मचारी, साधारण सदस्य, पत्रकार, सुरक्षाकर्मी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन रामाकान्त पटेलले गर्नुभएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।