Rashtriya Dainik

प्रदेशिक अस्पताल पोखरियाको भव्य उद्घाटन, मुख्यमन्त्री यादवद्वारा पूर्ण सहयोगको प्रतिबद्धता

राजन कुमार बानिया/पर्सा, २६ पुस

पर्साको दोस्रो सदरमुकामका रूपमा रहेको पोखरियामा प्रदेशिक अस्पताल पोखरिया आज एक भव्य समारोहबीच उद्घाटन गरिएको छ। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादव र स्वास्थ्य मन्त्री जंगीलाल यादवले संयुक्त रूपमा शिलालेख अनावरण गर्दै अस्पतालको औपचारिक उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले प्रदेशिक अस्पताल पोखरियाको समग्र विकासका लागि आफू पूर्ण रूपमा तत्पर रहेको स्पष्ट पार्नुभयो। उहाँले प्रदेशका अस्पतालहरूमा आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको उल्लेख गर्दै सरुवा भएका स्वास्थ्यकर्मीले अनिवार्य रूपमा कार्यस्थलमा हाजिर हुनुपर्ने र नआए कडा कारबाही गर्ने निर्देशन मन्त्रालयका सचिवलाई दिइसकेको जानकारी दिनुभयो।
मुख्यमन्त्री यादवले वीरगञ्ज केन्द्रित स्वास्थ्य सेवाका कारण पश्चिमी क्षेत्रका नागरिकले महँगो र झन्झटिलो सेवा लिन बाध्य भएको उल्लेख गर्दै पोखरियास्थित प्रदेशिक अस्पताललाई सक्षम, दक्ष र सुविधासम्पन्न बनाइने प्रतिबद्धता जनाउनुभयो। भौतिक संरचना, दक्ष चिकित्सक तथा अत्याधुनिक उपकरण व्यवस्थापन गरी यस क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराइने उहाँको भनाइ थियो।
कार्यक्रममा स्वास्थ्य मन्त्री जंगीलाल यादवले अब पोखरिया अस्पताललाई प्राविधिक मोडलको नमुना प्रदेशिक अस्पतालका रूपमा विकास गरिने बताउनुभयो। बाहिरका निजी अस्पतालसरह सस्तो, गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो।
अस्पताल विकास समिति अध्यक्ष उमेश चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, मधेश प्रदेशका कृषि मन्त्री श्याम प्रसाद पटेल, वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी, प्रदेश सांसद जनार्दन क्षेत्री, पूर्व खेलकुद मन्त्री प्रमोद जयसवाल, स्वास्थ्य मन्त्रालयका सचिव प्रमोद यादव, स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झा, पोखरिया नगरप्रमुख प्रधुमन चौहान लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले प्रदेशिक अस्पताल पोखरियाको निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्दै यस क्षेत्रको समग्र विकासका लागि सहयोगको अपेक्षा व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन स्वास्थ्य सहसंयोजक शिव पटेलले गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित