काठमाडौँ ,२३ पुस — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका मन्त्री घिसिङले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई बालुवाटारमा पुगेर राजीनामा पत्र बुझाएका हुन्। बालुवाटारबाट फर्किएपछि मन्त्री घिसिङले ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफ्नो राजीनामाबारे आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्। चुनाव गराउने स्पष्ट म्यान्डेटसहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका केही मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय भएको भन्दै पछिल्लो समय जनस्तरबाट निरन्तर प्रश्न उठ्दै आएको थियो। यही सन्दर्भमा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमा नामै तोकेर ऊर्जा मन्त्री कुलमान घिसिङ, उद्योग मन्त्री जगदीश खरेल तथा आपूर्तिमन्त्री बब्लु गुप्तासँग राजीनामा मागेकी थिइन्। प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री घिसिङले राजीनामा दिएसँगै नागरिक सरकारको निष्पक्षता र चुनावी तयारीप्रतिको प्रतिबद्धता पुनः बहसको केन्द्रमा आएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।