बिनोद निगम / नवलपरासी ,२२ पुस । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ सकरदिनहीस्थित दशगजा क्षेत्र नजिकबाट अवैध रूपमा भन्सार छलि नेपालबाट भारततर्फ लैजान लागिएको मकै तस्करी प्रयास सुरक्षाकर्मीले नाकाम पारेका छन्। सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बि.ओ.पी. बलीनगरको टोली तथा प्रहरी चौकी रामनगरको संयुक्त टोलीले मंगलबार बिहान करिब ६ बजेको समयमा अन्दाजी मूल्य रु २ लाख ९४ हजार बराबरको मकै ९८ बोरा (करिब २ हजार ९ सय ४० के.जी.) र सो ढुवानीमा प्रयोग गरिएको लु ३ च ३३२६ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीले जनाएको अनुसार नियन्त्रणमा लिइएको पिकअप गाडीको अन्दाजी मूल्य रु १३ लाख रहेको छ। बरामद गरिएको मकै र पिकअप गाडीको कुल मूल्य रु १५ लाख ९४ हजार बराबर रहेको बताइएको छ। बरामद मकै आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हे.क्वा.का सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक **गोविन्द बहादुर के.सी.**ले जानकारी दिनुभयो। यस सम्बन्धमा जानकारी दिँदै के.सी.ले सीमा क्षेत्रमा अवैध तस्करी नियन्त्रणका लागि सुरक्षा निकायको निगरानी र गस्तीलाई थप कडाइ गरिएको बताउनुभयो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।