वीरगञ्ज (पर्सा), पुस २२ गते ।
सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट विवाद टुंगिएसँगै वीरगञ्जमा लगाइएको कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज बसेको बैठकले पछिल्लो समय देखिएको तनाव समाधान गर्ने सहमति गरेपछि सोमबारदेखि लागू कर्फ्यू आज दिउँसो ३:३० बजेदेखि हटाइएको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले अन्य मुलुक वा स्थानमा घटेका घटनालाई लिएर वीरगञ्जमा प्रदर्शन तथा आन्दोलन नगर्ने प्रतिबद्धता जनाएपछि कर्फ्यू हटाउने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार दुई समुदायबीच सहमति कायम भएसँगै शान्ति सुरक्षा अवस्था सहज बन्दै गएको छ र जनजीवन सामान्यतर्फ फर्किन थालेको छ।
बैठकले आगामी दिनमा कुनै पनि आन्दोलन वा विरोध कार्यक्रम गर्नुपरे प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई ज्ञापनपत्र पेस गरेपछि मात्र कार्यक्रम सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ। साथै धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव कायम राख्न स्थायी सद्भाव संयन्त्र गठन गर्ने सहमति भएको छ।
उक्त संयन्त्रमा विभिन्न धार्मिक समुदाय, राजनीतिक दल, नागरिक समाज तथा नेपाल पत्रकार महासङ्घका प्रतिनिधि रहने व्यवस्था गरिएको छ। बैठकले सञ्चारमाध्यमलाई समाचार सम्प्रेषण गर्दा धार्मिक तथा सामाजिक सद्भावमा खलल नपुग्ने गरी जिम्मेवार भूमिका निर्वाह गर्न अनुरोध गरेको छ।
त्यसैगरी सद्भाव बिथोल्ने गतिविधिमा संलग्न समूह वा व्यक्तिमाथि कानुनी कारबाही गरिने र सबै पक्षले आत्मसंयम तथा अनुशासन कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

