बिनोद निगम / नवलपरासी, पुष २१ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले समाजमा आपसी सद्भाव, सहिष्णुता र एकता कायम राख्न सबैमा हार्दिक अपिल गरेको छ। प्रहरीका अनुसार नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक हो र विविधताबीचको सामाजिक एकता नै नेपाली समाजको पहिचान हो। पछिल्लो समय विभिन्न जात, धर्म तथा सम्प्रदायबीच खलल पुर्याउने उद्देश्यले अवाञ्छनीय गतिविधि भइरहेको प्रति प्रहरीले ध्यानाकर्षण गरेको छ। यस्ता गतिविधि प्रचलित कानुनअनुसार दण्डनीय हुने भएकाले समाजमा द्वेष, घृणा र विभाजन फैलाउने तत्वप्रति नागरिक सचेत रहनुपर्ने प्रहरीको भनाइ छ। सामाजिक तथा धार्मिक अगुवा, नागरिक समाज र सरोकारवालालाई आपसी एकताको वातावरण कायम राख्न र सबै जातजाति, धर्म र सम्प्रदायका मौलिक हकको संरक्षण गर्न प्रहरीले आग्रह गरेको छ। सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गर्दै प्रहरीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र स्वाभिमानमा प्रतिकूल असर पार्ने सामग्री प्रकाशन नगर्न चेतावनी दिएको छ। जातीय, धार्मिक, क्षेत्रीय वा साम्प्रदायिक आधारमा घृणा, द्वेष फैलाउने, आधारहीन आरोप लगाउने, व्यक्तिको प्रतिष्ठा वा गोपनीयतामा आघात पुर्याउने कार्य गर्न नहुने प्रहरीले जोड दिएको छ। जिल्ला प्रहरी कार्यालयले प्रचलित कानुनअनुसार यस्तो अपराधमा कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।