वीरगञ्ज, २१ पौष । सार्क जर्नलिस्ट फोरम इन्टरनेशनल च्याप्टर बिहार, नालन्दा खुला विश्वविद्यालय, अमरपाली कला–साहित्य सम्मेलन तथा मानवअधिकार टुडे को संयुक्त आयोजनामा पौष २० र २१ गते दुईदिने अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन नालन्दामा भव्य रूपमा सम्पन्न भएको छ। सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष तथा मानवअधिकार टुडेका सम्पादक शशि भूषण कुमारको अध्यक्षतामा सम्पन्न सम्मेलनका प्रमुख अतिथि पूर्व सिक्किम राज्यपाल माननीय गंगा प्रसाद रहनुभएको थियो। सम्मेलनमा मौरिससका पूर्व उपप्रधानमन्त्री हरिश बुद्धूकी धर्मपत्नी तथा अन्तर्राष्ट्रिय संस्कृति संवाहिका डा. सरिता बुद्धू, नेपालबाट सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा तथा थाइल्याण्डका प्रतिनिधि डा. पी. सी. चन्द्रालगायत करिब तीन दर्जन अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता रहेको थियो। सम्मेलनका अवसरमा नेपालबाट दर्जनौँ पत्रकारहरू अन्तर्राष्ट्रिय सम्मान अवार्डबाट सम्मानित भएका छन्। सम्मानित हुने पत्रकारहरूमा नृपेन्द्रलाल श्रेष्ठ, सदाब मलिक, दिपेन्द्र प्रजापति, अभिलाष गुप्ता, सैलेश गुप्ता, राजन कुमार सिंह र सुभास राम रहेका छन्। उनीहरूले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। सम्मेलनमा आधा दर्जन पद्मश्री सम्मानित व्यक्तित्वहरूसहित पत्रकार, चिकित्सक, खेलाडी, शिक्षक, व्यवसायी, समाजसेवी, साहित्यकार, लेखक तथा अनुसन्धान विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भारतका विभिन्न राज्यहरूबाट आएका प्रतिनिधि, पद्मश्री सम्मानित व्यक्तित्व तथा कुलपति गरी करिब २०० जना प्रतिनिधि सम्मेलनमा सहभागी भएका थिए। सम्मेलनको पहिलो दिन उद्घाटन सत्रसहित तीनवटा शैक्षिक सत्र सञ्चालन गरिएको थियो। मातृभाषामा आधारित खुला सत्र विशेष आकर्षणको रूपमा रहेको थियो, जहाँ पत्रकार, साहित्यकार, कवि तथा शिक्षकहरूले आ–आफ्नो मातृभाषामा विचार र रचना प्रस्तुत गरेका थिए। साँझ लोकगीत तथा लोकनृत्यमा आधारित सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। दोस्रो दिन सहभागीहरूलाई नालन्दा विश्वविद्यालयका ऐतिहासिक भग्नावशेषहरूको अवलोकन तथा भ्रमण गराइएको थियो। सो अवसरमा नालन्दाको ऐतिहासिक महत्त्व, शैक्षिक परम्परा र प्राचीन वैभवबारे जानकारी गराइएको थियो। कार्यक्रमबारे जानकारी दिँदै शशि भूषण कुमारले यो सम्मेलन बिहारमा आयोजना भएको चौथो अन्तर्राष्ट्रिय सम्मेलन भएको उल्लेख गर्नुभयो। अन्तर्राष्ट्रिय सहभागिता, मातृभाषा, संस्कृति र पत्रकारिताको सुदृढीकरणमा केन्द्रित यस सम्मेलनले नेपाल–भारतसहित विभिन्न देशबीच आपसी समझदारी र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।