अनिल बनिया / नवलपरासी , १७ पुष पश्चिम नवलपरासीको प्रमुख सीमा नाका महेशपुर हुँदै नयाँ वर्ष मनाउने तथा नेपाल भ्रमण गर्ने उद्देश्यसहित ६०० भन्दा बढी भारतीय पर्यटक नेपाल प्रवेश गरेका छन्। महेशपुर भन्सार कार्यालयका अनुसार हिजो र आज गरी भारतीय पर्यटकहरू मोटरसाइकल तथा विभिन्न सवारीसाधनसहित नेपाल प्रवेश गरेका हुन्। नयाँ वर्षको अवसरमा भारतीय पर्यटकको आवागमन बढेसँगै नाकामा चहलपहल समेत उल्लेख्य रूपमा बढेको छ। भन्सार कार्यालयले दिएको जानकारी अनुसार नेपाल प्रवेश गरेका पर्यटकहरू विशेषगरी पोखरा, काठमाडौँ, चितवन, मनकामना, पाल्पा, बुटवल तथा त्रिवेणी धाम जस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यतर्फ जाने तयारीमा छन्। महेशपुर भन्सार कार्यालयका कर्मचारी कमल शर्मा का अनुसार हिजो र आजको अवधिमा ६०० भन्दा बढी भारतीय पर्यटकले आफ्ना मोटरसाइकल र गाडीको आवश्यक भन्सार प्रक्रिया पूरा गरी नेपाल प्रवेश गरेका छन्। नयाँ वर्षसँगै पर्यटक आगमन बढ्दा सीमा क्षेत्रमा आर्थिक गतिविधि समेत चलायमान बनेको उहाँले बताउनुभयो। पर्यटकको बढ्दो आवागमनले पश्चिम नवलपरासीसहित आसपासका क्षेत्रको पर्यटन व्यवसाय, होटल तथा यातायात क्षेत्रमा सकारात्मक प्रभाव पर्ने स्थानीय व्यवसायीहरूको अपेक्षा रहेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।