ललितपुर,१७ पुस। वरिष्ठ धातुहस्तमूर्तिकलाकार राजेश अवालेको आत्मवृत्तान्त पुस्तक ‘अक्षरमा सात दशक, कुम्हालेको चक्र : माटो र जीवन’ लोकार्पण गरिएको छ। मूर्तिकारका अनुभूति र जीवनकथा सुनेर नानी हेरा शाक्यले लेख्नुभएको उक्त पुस्तक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हातम्छालि, ललितपुर महानगरपालिकाका उप–प्रमुख मञ्जली शाक्य बज्राचार्य, वरिष्ठ मूर्ति कलाकार सन्त कुमार शाक्य, वरिष्ठ परम्परागत कलाकार तथा लोकचित्रकार, समिक्षक शैलेन्द्र अधिकारी र पत्रकार कुमार रञ्जितलगायतले संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो। कार्यक्रममा बोल्दै कुलपति नारदमणि हातम्छालिले पुस्तक कलाकारमाथि अनुसन्धानात्मक अध्ययनका लागि महत्वपूर्ण प्रारम्भिक दस्तावेज भएको बताउँदै प्राज्ञिक अध्येताहरूका लागि उपयोगी हुने उल्लेख गर्नुभयो। लेखक राजेश अवालेले पुस्तक आफ्नो व्यक्तिगत कथा मात्र नभई समाजलाई सृजनात्मक दिशातर्फ प्रेरित गर्ने उद्देश्यले लेखिएको बताउनुभयो। ललितपुर महानगरपालिकाका उप–प्रमुख मञ्जली शाक्य बज्राचार्यले कलाकारहरूको वृत्ति विकास र संरक्षणका लागि महानगरपालिकाले विशेष व्यवस्था गरेको जानकारी गराउनुभयो। समिक्षक शैलेन्द्र अधिकारीले पुस्तकले नेपालको मूर्तिकला व्यवसायभित्रका संघर्ष र विकासक्रम बुझ्न सहयोग पुग्ने विचार राख्नुभयो। त्यसैगरी पत्रकार कुमार रञ्जितले कलाकारहरूको जीवन संघर्षसम्बन्धी पुस्तक प्रकाशन गर्ने परम्पराको थालनीसँगै नेपाली कला जगतको दस्तावेजीकरण सुरु भएको भन्दै विद्यार्थी तथा शोधकर्ताहरूका लागि यस्ता कृति अत्यन्त उपयोगी हुने धारणा व्यक्त गर्नुभयो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।