बझाङ,१५ पुस आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बझाङ जिल्लाबाट उम्मेदवारका रूपमा पाँच जनाको नाम सिफारिस गरेको छ। घटक पार्टीहरूको संयुक्त बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ भानुभक्त जोशी, मीनबहादुर कुवर, दिलबहादुर सिंह, देवकी मल्ल र करे धामीको नाम माथिल्लो कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो। साबिक नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्षसमेत रहेका भानुभक्त जोशी विघटित प्रतिनिधिसभाका सदस्य हुन्। मीनबहादुर कुवर साबिक माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रहिसकेका नेता हुन्। त्यस्तै, देवकी मल्ल पूर्व सुदूरपश्चिम प्रदेशसभा सदस्य हुन्। करे धामी युवा नेता हुन् भने दिलबहादुर सिंह साबिक नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्जका रूपमा कार्यरत रहिसकेका थिए। त्यसैगरी, प्रतिनिधिसभा समानुपातिकतर्फ शंकर खड्का, राधिका रताला, श्याम सुनार र धुम्मरा परियार ठकुन्नाको नाम सिफारिस गरिएको नेकपाका नेता लक्ष्मी जोशीले जानकारी दिनुभयो। उम्मेदवार सिफारिससम्बन्धी निर्णय साबिक नेकपा (एकीकृत समाजवादी) का जिल्ला कमिटी संयोजक अक्कल धामीको अध्यक्षतामा सम्पन्न बैठकबाट गरिएको हो। बैठकमा साबिक पार्टीका केन्द्रीय सदस्यहरू शंकर खड्का, देवकी मल्ल, जनक बुढा, मीनबहादुर कुवर, राधिका रताला, कलक बिक र रविन्द्र बमलगायतको उपस्थिति रहेको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।