काठमाडौं ,१० पुस
भारतको कर्नाटक राज्यको चित्रदुर्ग जिल्लामा भएको भीषण सडक दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। दुर्घटना भारतको नेसनल हाइवे–४८ मा भएको हो।
चित्रदुर्गका जिल्ला कलेक्टर (डीसी) ले बीबीसी हिन्दीलाई जानकारी दिँदै बुधबार राति करिब २ बजे दुर्घटना भएको बताए। उनका अनुसार बेंगलुरुबाट गोकर्णतर्फ जाँदै गरेको स्लिपर कोच बस विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किएपछि बसमा आगलागी भएको थियो।
“बसमा ३२ जना यात्रु सवार थिए। हालसम्म ११ जनाको शवको पहिचान भइसकेको छ र सबै घाइतेलाई नजिकैका अस्पतालमा भर्ना गरिएको छ,” डीसीले बताए।
उक्त दुर्घटनामा परेर ज्यान गुमाएकाप्रति विभिन्न राजनीतिक नेतृत्वले शोक व्यक्त गरेका छन्। यसैबीच तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले त्रिची–चेन्नई नेसनल हाइवेमा भएको अर्को सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिप्रति पनि गहिरो दुःख व्यक्त गरेका छन्।
मुख्यमन्त्री स्टालिनले मुख्यमन्त्री सार्वजनिक राहत कोषबाट मृतकका परिवारलाई जनही तीन लाख भारु र गम्भीर घाइतेलाई एक लाख भारु आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेका छन्।
प्राप्त जानकारीअनुसार बुधबार राति त्रिचीबाट चेन्नईतर्फ जाँदै गरेको सरकारी बसको अगाडिको टायर फुटेपछि बस अनियन्त्रित भई दुई वटा कारसँग ठोक्किएको थियो। घटनाबारे थप विवरण संकलन तथा अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

