पुरुषोत्तम सुबेदी /नवलपरासी , पुस ९ गते । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित ऐतिहासिक एवं धार्मिक महत्व बोकेको अनोमाघाटलाई पर्यटकीय तथा धार्मिक गन्तव्यका रूपमा विकास गर्न पालिकाले विशेष गुरुयोजना अघि सारेको छ । सरोकारवाला पक्षहरूसँग वृहत् छलफलले अनोमाघाटको समग्र विकास र प्रवर्द्धनका लागि ठोस कदम चाल्ने गाउँपालिकाले निर्णय गरेको हो । छलफलले क्षेत्रको योजनाबद्ध विकासका लागि एक अधिकारसम्पन्न ‘अनोमाघाट विकास एवं प्रवर्द्धन समिति’ गठन गर्ने निर्णय गरेको छ । यसका साथै उक्त स्थानमा पर्यटकलाई आकर्षित गर्न विभिन्न भौतिक संरचनाहरू निर्माण गर्ने र बाह्य क्षेत्रबाट आउने आगन्तुकहरूको सहजताका लागि मुख्य राजमार्ग तथा विभिन्न चोकहरूमा जानकारीमूलक साइनबोर्ड राख्ने योजना तय गरिएको छ । स्थानीय नेतृत्वको प्रतिबद्धता सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले अनोमाघाट सुस्ताको मात्र नभई देशकै गौरव भएको बताउनुभयो । उहाँले भन्नुभयो “अनोमाघाटको ऐतिहासिक गरिमालाई विश्वमाझ चिनाउन हामी प्रतिबद्ध छौँ । यसलाई धार्मिक पर्यटनको केन्द्र बनाउन पालिकाले बजेट र योजनामा प्राथमिकता दिएको छ । विकास समितिमार्फत हामी यहाँको गुरुयोजना कार्यान्वयन गर्नेछौँ र आवश्यक भौतिक पूर्वाधार निर्माणमा कुनै कसर बाँकी राख्ने छैनौँ ।” त्यसैगरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले प्रशासनिक र प्राविधिक पक्षबाट विकास कार्यलाई तीव्रता दिइने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो”अनोमाघाटको पहिचानका लागि सूचना प्रवाह सबैभन्दा महत्वपूर्ण छ । त्यसैले हामीले विभिन्न स्थानमा जानकारीमूलक साइनबोर्ड राख्ने र व्यवस्थित संरचना निर्माणको कामलाई तत्कालै प्रक्रियामा लैजाने तयारी गरेका छौँ । यसले आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउन मद्दत पुग्नेछ ।” अनोमाघाटलाई विशेषगरी बौद्ध दर्शनसँग जोडेर हेरिन्छ । सिद्धार्थ गौतम (बुद्ध) ले गृहत्याग गरी ज्ञानको खोजीमा निस्कँदा आफ्नो राजकीय वस्त्र त्याग गरेको र कपाल मुण्डन गरी तपस्वी जीवनको सुरुवात गरेको स्थलका रूपमा यसलाई चिनिन्छ । नारायणी नदीको तटमा रहेको यो क्षेत्र धार्मिक दृष्टिले पवित्र र ऐतिहासिक दृष्टिले उत्खनन तथा अनुसन्धान योग्य मानिन्छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।