Rashtriya Dainik

बाक्लो हुस्सु, कुहिरो र शीतलहर केही दिन कायमैं रहने, सावधानी अपनाउन जरुरी

काठमाडौं ,९ पुस

बिहानदेखि रातीसम्म धेरै टाढा नदेखिने गरि लाग्ने बाक्लो कुहिरो तथा हुस्सु । सिमसिमे पानी जस्तै आकासबाट फुसफुस झर्ने शीत अथवा शीतलहर । अत्याधिक चिसो । बिगत एक सातादेखि तराइ क्षेत्रमा देखा परेको यस खालको मौसममा तत्कालै सुधार आउने छाटकाँट देखिएको छैन ।

मौसमबिद्हरुले यस खालको तराइको मौसम केही दिन कायमैं रहने बताएका छन् । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने भएकाले आवश्यक सावधानी अपनाउन सवैमा आग्रह गरेको छ । बाक्लो हुस्सु, कुहिरो र शीतलहर सँगै बढेको चिसोले सामान्य जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्नसक्ने विभागले जनाएको छ ।

विभागका मौसमविद् हरिप्रसाद दाहालले मुलुकको तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको जानकारी दिदै आउँदो तीन दिनसम्ममा मौसममा उल्लेख्य सुधार हुने सम्भावना नरहेको बताए । ‘यसले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातलगायत क्षेत्रमा प्रभाव पर्ने देखिएकाले सतर्कता अपनाउन जरुरी छ’ उनको भनाइ छ । उनका अनुसार, मुख्यगरी पानी पर्ने प्रणाली नभएको पश्चिमी वायु सक्रिय हुन नसकेकाले हुस्सु र कुहिरो थप बढेको हो ।

यस्तो मौसमको वेला स्वास्थ्यको दृष्टिकोंणलेपनि सावधानी अपनाउनु पर्ने चिकित्सकहरु बताउँछन् । युनिभर्सल शिक्षण अस्पताल भैरहवाको आकस्मिक विभाग प्रमुख डा.मनोहर जोशी चिसोका कारणले शरिरको प्रतिरोधात्मक क्षमतामा कमी आउने भएकाले विभिन्न खालका स्वास्थ्य समस्याले चाँडो आक्रमण गर्न सक्ने भएकाले सजगता अपनाउन जरुरी भएको बताए ।

‘शरीरको प्रतिरोधात्मक क्षमतामा कमी आउन सक्ने भएकाले यस्तो मौसमका वेला शरीर कम्जोर हुने गर्छ’ पब्लिककुरासँग उनले भने, ‘चिसोको वेला बालवालिका, बृद्धबृद्धा र दीर्घ बिरामीले बिशेष सजगता अपनाउन जरुरी छ ।’

डा.जोशीका अनुसार, यस्तो मौसममा कतिपयलाई रुघाखोकी, चिसोको एलर्जी र निमोनिया हुने संभावना हुन्छ । बालवालिकालाई पखाला र निमोनियाको जोखिम हुन्छ । अन्य वेलामा भन्दा चिसोमा रक्तचापपनि बढ्ने गर्छ । हिंडडुल कम हुने र कठ्याङ्ग्रीने भएकाले शरिरका जोडाइहरु दुख्ने गर्छ । बाथरोग, मुटुको समस्या, पक्षघात जस्ता समस्याको जोखिम चिसोको वेला बढि हुने गर्छ ।

चिसोमा मानसिक तनावपनि बढ्ने संभावना हुने र मदिरा सेवन गर्नेलाई सुगरकोमात्रा बढ्न सक्ने उनि बताउँछन् । नियमित मर्निङवक गर्नेहरुलेपनि अत्याधिक चिसोको वेलामा धेरै नहिँड्न र घाम उदाएपछिमात्र हिँड्न उनको सुझाव छ ।

उता, हुस्सु कुहिरो र शीतलहर बढेपछि सडकमा दुर्घटनाको जोखिम पनि बढ्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सडकमा भिजिविलिटी कम हुँदा र शीतलहरले सडक चिप्लेर सवारीसाधन अनियन्त्रित हुन थालेकाले सडक दुर्घटनाको जोखिम बढेको बताउँछिन् ।

‘यस्तो मौसमको वेला हेल्मेटको फित्ता राम्ररी लगाउने, तिब्र गतीमा साधन नचलाउने, आँखा नै छोपिने गरी कपडाले मुख नढाक्ने र सावधानी पुर्वक सवारी चलाउन जरुरी छ’ कार्कीले भनिन्, ‘शीतलहरले सडक भिजेको वेलामा ब्रेक नलागेर पाँग्रा चिप्लिने भएकाले ब्रेक लगाउँदा ख्याल गर्नु पर्छ ।’

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित