राष्ट्रिय दैनिक / नवलपरासी , ८ पुस सामाजिक सद्भाव, एकता र धार्मिक–सांस्कृतिक पहिचानको संरक्षणमा महायज्ञको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बर्दघाटे कालिका मन्दिरका अध्यक्ष बिरेन्द्र यादवले बताएका छन्। उनले समाजमा विभिन्न जातजाति, भाषाभाषी र समुदायहरू रहेकाले आपसी सद्भाव कायम राख्न महायज्ञजस्ता कार्यक्रम प्रभावकारी माध्यम बनेको उल्लेख गरे। सरावल गाउँपालिका वडा नम्बर ३ सरावलमा श्री श्री १०८ हनुमान महायज्ञ अन्तर्गत आयोजित रासलिला कार्यक्रमको भव्य रूपमा उदघाटन गरिएको छ। रासलिला कार्यक्रम महायज्ञ मुल समिति अध्यक्ष महेन्द्र चौधरीको अध्यक्षता तथा बर्दघाटे कालिका मन्दिरका अध्यक्ष बिरेन्द्र यादवको प्रमुख आतिथ्यतामा उदघाटन भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले हनुमान महायज्ञजस्ता धार्मिक आयोजनाले धर्म र संस्कृतिको संरक्षण गर्नुका साथै समाजलाई एकीकृत र संगठित राख्न महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले “एकता ठुलो बल हो, एकतामार्फत नै समाज सशक्त र समुन्नत बन्छ,” भन्दै यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमको निरन्तरता आवश्यक रहेकोमा जोड दिए। महायज्ञले धार्मिक आस्थाको अभिव्यक्ति मात्र नभई सामाजिक मेलमिलाप, सहकार्य र आपसी विश्वास बढाउने कामसमेत गर्ने अध्यक्ष यादवको भनाइ छ। कार्यक्रममा स्थानीयवासी, धर्मप्रेमी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।