डेढ कठ्ठामा लगाइएको करिब १ हजार गाँजाका बोट फडानी राजन कुमार बानिया / पर्सा, ८ पुस पर्सा जिल्लामा केही समय रोकिएको गाँजा खेती नष्ट गर्ने नेपाल प्रहरीको अभियान सोमबारदेखि पुनः सुरु भई मंगलबार पनि निरन्तरता पाएको छ। मंगलबार बिहान बहुदरमाई नगरपालिका वडा नम्बर–१ मा अवैध रूपमा लगाइएको डेढ कठ्ठा क्षेत्रफलको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको हो। इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले करिब १ हजार वटा गाँजाका बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जिल्लाका विभिन्न स्थानमा लुकीछिपी अवैध रूपमा गरिएको गाँजा खेतीलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय पर्साले यसअघि पनि अभियान सञ्चालन गर्दै आएको थियो। तर केही महिनायता उक्त अभियान स्थगित रहेको थियो। जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठक कार्यभार सम्हालेपछि सोमबारदेखि पुनः गाँजा खेती फडानी तथा नष्ट गर्ने अभियान सुरु गरिएको हो। यसैक्रममा सोमबार जिराभवानी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकामा करिब साढे तीन कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती पनि प्रहरीले नष्ट गरेको थियो। प्रहरी उपरीक्षक पाठकले सोमबारदेखि सुरु गरिएको अभियान निरन्तर जारी रहने जानकारी दिँदै जिल्लाभरका सबै मातहतका प्रहरी युनिटहरूलाई आवश्यक निर्देशन दिइसकिएको बताए। साथै, जिल्लाको कुनै पनि स्थानमा अवैध गाँजा खेती भइरहेको जानकारी भएमा प्रहरीलाई सूचना दिएर सहयोग गर्न उनले जिल्लावासीसँग सार्वजनिक अपिल गरेका छन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।