दोरेन्द्र खड्का / बझाङ, ८ पुस बझाङ जिल्लाको सदरमुकाम चैनपुर बजार भौगोलिक रूपमा सानो भए पनि यहाँको जनघनत्व र चहलपहल अत्यधिक छ। जिल्लाको प्रशासनिक, व्यापारिक तथा शैक्षिक केन्द्रका रूपमा विकसित हुँदै गएको चैनपुरमा दैनिक सयौँ मानिसको आवत–जावत हुने गर्दछ। यही अवस्थालाई मध्यनजर गर्दै जयपृथिवी नगरपालिकाले विगत केही वर्षयता करोडौँ रुपैयाँ लगानी गरी विभिन्न भौतिक संरचना निर्माण गरेको छ। तर तीमध्ये धेरै संरचना हालसम्म पनि प्रयोगविहीन अवस्थामा रहेका छन्। यसको प्रतिनिधिमूलक उदाहरण हो— जयपृथिवी नगरपालिका वडा नम्बर ३ को ‘भिडमुनि’ क्षेत्रमा निर्माण गरिएको कृषि एकीकृत बजार विकास परियोजना। सदरमुकाम चैनपुर बजारबाट करिब २०० मिटर दूरीमा रहेको उक्त बजार स्थानीय कृषकलाई आफ्ना उत्पादन बिक्री–वितरण गर्न सहज बनाउने, बिचौलियाको अन्त्य गर्ने र बजार व्यवस्थापन व्यवस्थित गर्ने उद्देश्यले निर्माण गरिएको थियो। तर निर्माण सम्पन्न भएको चार–पाँच वर्ष बितिसक्दा पनि उक्त कृषि एकीकृत बजार सञ्चालनमा आउन सकेको छैन। भवनहरू प्रयोगविहीन छन्, ढोका–झ्याल जीर्ण बन्दै गएका छन् भने बजार क्षेत्र अहिले छाडा चौपाया र पशुचौपायाको बासस्थानजस्तै बनेको छ। करोडौँ रुपैयाँको लगानी यसरी बेवारिसे बन्दै जानु जनताको करको दुरुपयोग भएको स्थानीयवासीको गुनासो छ। स्थानीय कृषक भन्छन्, “यदि बजार सञ्चालनमा आएको भए तरकारी, फलफूल र अन्य उत्पादन बेच्न निकै सहज हुन्थ्यो। तर अहिले त बजार छँदै छैन जस्तो भएको छ।” यस्तै अवस्था जयपृथिवी नगरपालिका वडा नम्बर १० को रिङ रोड क्षेत्रमा निर्माण गरिएको सवारी पार्किङ स्थलको पनि छ। सदरमुकाम क्षेत्रमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ समस्यालाई समाधान गर्ने उद्देश्यले लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको पार्किङ स्थल हालसम्म पनि प्रयोगमा आउन सकेको छैन। सवारी साधनहरू सडक किनारमै अव्यवस्थित रूपमा पार्क भइरहेका छन् भने पार्किङ स्थल भने सुनसान देखिन्छ। स्थानीय व्यवसायीहरूका अनुसार, “पार्किङ सञ्चालनका लागि न त व्यवस्थापन समिति बनाइएको छ, न त कुनै स्पष्ट कार्ययोजना नै छ। संरचना मात्र बनाएर छाडिदिँदा समस्याको समाधान हुँदैन।” यी त जयपृथिवी नगरपालिकाका केही प्रतिनिधिमूलक संरचनामात्र हुन्। यस्ता धेरै भौतिक संरचनाहरू नगरपालिकाभरि प्रयोगविहीन अवस्थामा रहेको स्थानीयहरूको दाबी छ। दीर्घकालीन सोच, सञ्चालन मोडालिटी र व्यवस्थापन योजना बिना संरचना निर्माण गर्नु नै समस्याको मूल कारण भएको जानकारहरूको भनाइ छ। यता नगरपालिका भने अझै पनि नयाँ–नयाँ भौतिक संरचना निर्माणमै व्यस्त देखिन्छ। तर यसअघि निर्माण गरिएका संरचनाको उपयोग, मर्मत–सम्भार र प्रभावकारी सञ्चालनतर्फ भने अपेक्षित ध्यान पुग्न सकेको छैन। यसले स्थानीयस्तरमा “सरकारको लगानी बालुवामा पानी मिसाएझैँ भयो” भन्ने गुनासोलाई थप बल पुगेको छ। यस विषयमा नगरपालिकाको तर्फबाट अहिलेसम्म स्पष्ट जवाफ वा कार्ययोजना सार्वजनिक हुन सकेको छैन। समयमै प्रयोगविहीन संरचनालाई सञ्चालनमा ल्याउनेतर्फ ध्यान नदिइएमा राज्यको करोडौँ लगानी खेर जाने मात्र नभई जनताको भरोसा पनि कमजोर हुँदै जाने सरोकारवालाहरूको चेतावनी छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।