आरपि उपाध्याय /त्रिवेणी ,८ पुस पौष महिना लाग्नासाथ बढेको चिसो र शितलहरले पश्चिम नवलपरासीमा जनजीवन कष्टकर बन्न थालेपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला विपद व्यवस्थापनको विस्तारित बैठक सुस्तामा सम्पन्न गरेको छ। बैठकले बढेको शितलहरबाट निम्न वर्गीय परिवारमा पर्न गएको असर र दिन सकिने राहत बारे पनि विस्तारित रुपमै छलफल भएको सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको अध्यक्षतामा बसेको बैठकमा शितलहरको जोखिमबाट बच्न विद्यालय र समुदाय स्तरबाटै जनचेतनामूलक कार्यक्रम गर्नुको साथै राजमार्ग र भित्री सडक खण्डमा बाक्लो हुस्सुले सवारी साधन आवतजावतमा हुने कठिनाइ बारे पनि सचेतनामूलक जानकारी गराएर बच्न सकिने बारे बैठक केन्द्रित रहेको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले प्रतिकुल मौसममा हुने विपद नियन्त्रण गर्न आवश्यक बजेटलाई व्यवस्थापन गर्नुपर्ने र स्थानीय तहका सडकहरुमा हुने दुर्घटना रोक्न स्थानीय तहबाट नै माइकिङ र जनचेतनामूलक कार्यक्रमबाट नै रोकथाम गर्न सकिने धारणा राख्नुभयो। बैठकमा सुस्ता गाउँपालिकाको नारायणी पारीको सुस्ता भुमि नदीको मुख्य धारमा परेबाट त्यसलाई तत्काल रोक्नका लागि आवश्यक प्रक्रिया पूरा गर्नको लागि संघ र प्रदेश सरकारको नीति मा पार्नुपर्ने अन्यथा सुस्ताको अस्तित्व समाप्त बारे पनि बैठकमा छलफल भएको सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले जानकारी दिनुभएको थियो। बैठकमा रामग्राम नगरपालिका का प्रमुख धनपत यादव,सुनवल नगरपालिका प्रमुख बिमला अर्याल,बर्दघाट नगरपालिका का उपप्रमुख रुद्र प्रसाद उपाध्याय,सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी लगायतले आफ्नो नगर र पालिका क्षेत्रमा भएको विपद व्यवस्थापनका लागि गतिविधि र भावी रणनीति बारे बैठक समक्ष जानकारी गराउनु भएको थियो। सो अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठ,सशस्त्र प्रहरी बल २६ न. गणका गणपति सन्तोष रायमाझीले विपदको समयमा सुरक्षा निकायबाट गरिएको र गर्न सकिने क्रियाकलापबारे जानकारी गराउनु भयो। सञ्चारकर्मीद्वारा सोधिएको एक प्रश्नको जवाफ दिदै प्र.जि.अ. लम्सालले यो बैठक सुस्तामा राखिनुको प्रमुख कारण सुस्तामा विपद र जोखिम बढी हुन सक्ने हुँदा त्यसबाट बच्न सम्बन्धित सरोकारवाला निकायको बढी ध्यानाकर्षण गर्नको लागि नै सुस्ता उत्तम ठाउँ रहेको प्रतिक्रिया दिदै सरोकारवाला निकायबाट आएको सुझावलाई जिल्ला तहबाट गर्न सकिने जोखिम नियन्त्रणका प्रयास जिल्ला विपद समितिबाट गरिने र थप कुरा अक्षरस: गृह मन्त्रालयमा पठाइने प्रतिक्रिया दिनुभएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।