Rashtriya Dainik

सिमा क्षेत्रका समस्यामा पत्रकारको सक्रियता, ईन्डो–नेपाल बोर्डर संघ सशक्त बन्दै

आरपि उपाध्याय / नवलपरासी ,७ पुस

ईन्डो–नेपाल बोर्डर सिमा पत्रकार संघको विस्तारित त्रैमासिक बैठक आइतबार भारतको बिहार राज्य अन्तर्गत पश्चिमी चम्पारण जिल्लाको बगहा प्रखण्डस्थित रामपुरमा सम्पन्न भएको छ।

नेपाल–भारत अन्तर्राष्ट्रिय सिमानामा हुने अवैध क्रियाकलाप नियन्त्रण गर्ने तथा सिमा क्षेत्रका पत्रकारहरूबीच देखिएका समस्या समाधान गर्ने उद्देश्यले आयोजित बैठकमा करिब दुई दर्जन पत्रकारहरूको सहभागिता रहेको थियो।

संघका अध्यक्ष कौशल कुमारको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख अतिथिका रूपमा पश्चिमी चम्पारण बगहा प्रखण्डका विकास अधिकारी बिट्टु कुमार राम सहभागी हुनुहुन्थ्यो। उहाँले सिमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि रोकथाम गर्न पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सिमावर्ती क्षेत्रका विकास निर्माण कार्यबारे दुवै देशका नागरिकलाई सुसूचित गर्नु पत्रकारहरूको दायित्व भएको धारणा राख्नुभयो।

बैठकमा संघले पत्रकारहरूको हकहित संरक्षणसँगै सामाजिक उत्तरदायित्वलाई समेत ध्यानमा राख्दै विपन्न बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गर्ने, साथै नेपाल–भारत सिमा क्षेत्रका पत्रकारहरूबीच सूचनाको नियमित आदान–प्रदान गर्ने निर्णय गरेको संघका सचिव नत्थु शर्माले जानकारी दिनुभयो।

सो अवसरमा संघका सदस्य तथा नेपाल प्रेस युनियन नवलपरासी (ब.स.प.) का अध्यक्ष उमेश बि.क. ले पत्रकारिता तालिम, गोष्ठी तथा पत्रकारहरूको हकहितका विषयमा संघले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रममा संघका वरिष्ठ सदस्य भारतीय पत्रकारहरू माधवेन्द्र पाण्डे, जयप्रकाश बर्मा, संजय पाण्डे, शिवा तिवारी, समउल्लाह अन्सारी, हरिद्वार काजी तथा नेपालतर्फका वरिष्ठ पत्रकार एवं संघका संरक्षक आर.पी. उपाध्याय, पत्रकार संजय कुशवाहालगायतले संगठन विस्तार र सुदृढीकरणका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो।

बैठकमा नेपाली भू–भागमा भारतीय पक्षबाट गरिने नदी तथा नहर तटबन्धमा हुने गुणस्तरहीन निर्माण कार्य रोक्न नेपाल र भारतका पत्रकारहरूले संयुक्त रूपमा आवाज उठाउनुपर्ने, साथै सिमा पार भारतीय बजारहरूमा अवैध रूपमा हुने लागुऔषधको बिक्री–वितरण तत्काल नियन्त्रण गर्नुपर्ने विषयमा गम्भीर छलफल गरिएको थियो।

संघको आगामी बैठक पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आयोजना गर्ने सहमति समेत बैठकले गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित