राजन कुमार बानिया / पर्सा, ६ पुस पर्साको पोखरिया नगरपालिकास्थित जिल्ला उचाङल रामदेव कलवार माध्यमिक विद्यालयले आफ्नो ५८औँ वार्षिक उत्सव विभिन्न रचनात्मक कार्यक्रमका साथ सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित विशेष समारोहमा खेलकुद, सांस्कृतिक प्रस्तुति र सम्मान कार्यक्रम गरी उत्सव मनाइएको हो। कार्यक्रमका प्रमुख अतिथि पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन चौहानले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। सम्बोधनका क्रममा नगर प्रमुख चौहानले देशको वर्तमान अवस्थाका कारण केही समस्या रहे पनि आगामी दिनमा पोखरिया माविलाई कलेजको रूपमा स्थापना गराउने ऐतिहासिक प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यस्ता उत्सवले विद्यार्थीहरूमा मानसिक, शारीरिक र बौद्धिक उत्साह भर्ने बताउँदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। “विद्यालयको चौतर्फी विकासका लागि म र नगरपालिका सधैँ सहयोग गर्न तयार छौँ,” प्रमुख चौहानले भन्नुभयो। वार्षिक उत्सवको अवसरमा आयोजित क्रिकेट, फुटबल, कबड्डी, दौड, हाईजम्प र लङजम्प लगायतका खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो। साथै, विद्यालयमा उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा सहयोगीहरूलाई पनि सम्मान गरियो। उत्सवको अर्को आकर्षण सांस्कृतिक कार्यक्रम रहेको थियो। जसमा विद्यालयका छात्र–छात्राहरूले विभिन्न गीतमा आकर्षक नृत्य प्रस्तुत गरी उपस्थित पाहुनाहरूलाई मनोरञ्जन गराएका थिए । विद्यालयका प्रधानाध्यापक राजकुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा पोखरियाका प्रथम नगर प्रमुख दिपनारायण रौनियार विद्यालयका जग्गादाता शम्भुशरण प्रसाद कलवार ,उपप्रमुख रुवी ठाकुर ,प्रथम उपप्रमुख सलमा खातुन ,प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंह ,लेखा अधिकृत मन्दिप महतो ,वडा अध्यक्षहरू लक्ष्मण साह र नौसाद आलम ,नेपाल रेडक्रस सोसाइटी पोखरियाका सभापति भगवान कुर्मी नेताहरू निजामोदिन समानी, श्रीकिसुन चौहान लगायतको उपस्थिति रहेको थियो। बक्ताहरूले ५८औँ वार्षिक उत्सव विद्यालयको इतिहासमा एउटा महत्वपूर्ण कडी भएको र यसले विद्यार्थीहरूलाई प्रेरणा प्रदान गरेको चर्चा गरेका थिए। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।