राष्ट्रिय दैनिक /नवलपरासी ,५ पुस पश्चिम नवलपरासीको सरावल गाउँपालिका –४ गोबरहियास्थित सिद्धार्थ सेकेण्डरी स्कूलमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । गोबरहिया कृषि सहकारी संस्था लि. तथा सिद्धार्थ सेकेण्डरी स्कूलको संयुक्त आयोजनामा शनिबार उक्त शिविर सञ्चालन गरिएको हो । शिविरमा नेपाल नेत्र ज्योति संघ अन्तर्गत डा. विनोद निता कण्डेल आँखा अस्पताल, परासीले प्राविधिक सहयोग प्रदान गरेको थियो । गोबरहिया कृषि सहकारी संस्था लि.का अध्यक्ष सुरेश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल नेत्र ज्योति संघ डा. विनोद निता कण्डेल आँखा अस्पताल परासीका अध्यक्ष तथा पूर्व मन्त्री देवेन्द्रराज कण्डेल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व मन्त्री कण्डेलले ग्रामीण क्षेत्रमा यस्ता निःशुल्क स्वास्थ्य शिविरहरू अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै आँखा स्वास्थ्यप्रति जनचेतना बढाउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । उहाँले सहकारी र शैक्षिक संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै गरेकोमा प्रशंसा समेत गर्नुभयो । त्यस्तै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले गाउँपालिकाले स्वास्थ्य सेवा पहुँच विस्तारलाई प्राथमिकतामा राखेको बताउँदै आगामी दिनमा यस्ता शिविरहरूलाई निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । निःशुल्क आँखा शिविरमा सरावल–४ का वडा अध्यक्ष सुरेश यादव, समाजसेवी दिनेश सहानी, वडा सदस्य रन्जना महतो, समाजसेवी जित बहादुर चौधरी, सहकारी उपाध्यक्ष बसन्त चौधरी, कोषाध्यक्ष पुष्पा चौधरी, नेपाल नेत्र ज्योति संघ डा. विनोद निता कण्डेल आँखा अस्पतालका सह–कोषाध्यक्ष अनिल उपाध्याय लगायतको विशेष उपस्थिति रहेको थियो । शिविर व्यवस्थापक अजय पाण्डेयको व्यवस्थापनमा नेत्र विशेषज्ञ डा. महेश शाह, OA अफिसर राधिका यादव लगायतको टोलीले आँखा परीक्षण गरेको थियो । शिविरमा जम्मा ३८५ जनाको आँखा परीक्षण गरिएकोमा १३० जनामा मोतियाबिन्दु फेला परेको आयोजकले जनाएको छ । ग्रामीण क्षेत्रका सर्वसाधारणले निःशुल्क रूपमा विशेषज्ञ सेवा पाएको भन्दै स्थानीयवासीले शिविरको खुलेर प्रशंसा गरेका छन् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।