राजन कुमार बानिया /पर्सा, ५ पुस पर्साको जगरनाथपुर गाउँपालिकामा चौथो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि सुरु भएको छ। जगरनाथपुर गाउँपालिकाको आयोजनामा मसिहानको चौरमा सुरु भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले पानसमा बत्ती बालेर गर्नुभएको हो। उद्घाटन समारोहमा अध्यक्ष यादवले प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने जानकारी दिनुभयो। उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष यादवले चिसो मौसमको बाबजुद पनि विद्यार्थीहरू खेलकुदप्रति उत्साहित भई सहभागी भएकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले खेलकुद शारीरिक तथा मानसिक स्वास्थ्यका लागि औषधि सरह हुने उल्लेख गर्दै शिक्षासँगै खेलकुद पनि सबैका लागि अत्यावश्यक रहेको बताउनुभयो। खेलकुदले शरीर स्वस्थ राख्नुका साथै जीवनमा फुर्तिलोपन ल्याउने भएकाले विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गर्दै जित हासिल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाभरिका १६ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ। प्रतियोगिताअन्तर्गत हाई जम्प, लङ जम्प, दौडलगायत विभिन्न खेलहरू सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले जानकारी दिनुभयो। कार्यक्रम वडा नं. ५ का वडाध्यक्ष बिहारी महतो नुनियाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बबिता सिंह, नेपाली काँग्रेस पर्साका जिल्ला कोषाध्यक्ष प्रेम थापा, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, लेखापाल सन्देश कुशवाहा, विभिन्न वडाध्यक्षहरू, शिक्षा शाखा प्रमुख अशोक सिंह, स्वास्थ्य शाखा प्रमुख प्रबेन्द्र साह, इन्जिनियर सादाम हुसेन, मनजय गिरी, पालिका सदस्यहरू, विद्यालयका प्रधानाध्यापकहरू, वडा सदस्यहरू, स्थानीयबासी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। खेलकुद कार्यक्रमअन्तर्गत प्रावि, निमावि र मावि तहका १६ विद्यालयका विद्यार्थीहरूले आ–आफ्नो विद्यालयको ब्यानरसहित मार्चपास गरेका थिए भने छात्राहरूले सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए। आयोजकका अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलिसम्म सञ्चालन हुनेछ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।