राष्ट्रिय दैनिक / नवलपरासी ,४ पुस पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा सम्भावित शीतलहरको जोखिमलाई मध्यनजर गर्दै विपद् व्यवस्थापन समितिको बैठकले राहत, सचेतना र अनुगमनसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ। नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले शीतजन्य विपत्तिबाट नगरवासीलाई सुरक्षित राख्न समन्वित र बहुआयामिक तयारी अघि बढाउने निर्णय गरेको हो। बैठकअनुसार नगरपालिकाको स्वास्थ्य शाखामार्फत नगरभित्र रहेका १७ वटा स्वास्थ्य चौकीहरूमा शीतलहरसम्बन्धी सचेतनामूलक जानकारी सर्कुलेसन गरिनेछ। यस्तै शिक्षा शाखामार्फत विद्यालयस्तरमा विद्यार्थी, शिक्षक तथा अभिभावक लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको छ। गत आर्थिक वर्षमा ३ लाख रुपैयाँ बराबरका टोपी र कम्मल वितरण प्रभावकारी भएको निष्कर्ष निकाल्दै यस वर्ष पनि बाक्लो कपडा वितरण गरिने नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार निजी क्षेत्र, बर्दघाट जेसिज, नेपाल रेडक्रस सोसाइटी, सामुदायिक वन, तथा राजनीतिक दलका प्रतिनिधिहरूसँगको समन्वयमा राहत सामग्री वितरण गरिनेछ। सम्भावित शीतलहरको पूर्वतयारीका लागि नगरपालिकाले थप रूपमा स्वीटर, टोपी, मोजा र कम्मल खरिद तथा वितरण गर्ने तयारी गरेको छ। विपद् फोकल पर्सन कृष्ण थापा क्षेत्रीका अनुसार मोजा र टोपी १ हजार सेट तथा करिब ५०० थान कम्मल खरिदका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। बैठकले बाक्ला कपडा खरिद समिति, वितरण समिति तथा अनुगमन समिति गठन गर्ने निर्णय पनि गरेको छ। राहत सामग्री वितरण कुनै पनि राजनीतिक पूर्वाग्रहका आधारमा हुन नदिने स्पष्ट नीति लिँदै त्यसको निगरानीका लागि अनुगमन समिति गठन गरिएको छ। अनुगमन समितिमा उपप्रमुख रुद्र प्रकाश, रास्वापा प्रकाश र सुरज के.सी. सदस्य रहनु भएको छ। शीतलहरका बेला आगो ताप्ने आवश्यकतालाई ध्यानमा राख्दै त्रिवेणी चोक, चिसापानी चोक, भुताहा चोक, मझौनी चोक, भटौलिया चोक, नारायण चोक लगायतका प्रमुख चोकहरूमा दाउरा वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ। नगरपालिकाको यस तयारीले शीतलहरबाट हुने सम्भावित जोखिम न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।