Rashtriya Dainik

उच्च अदालतको आदेशः रवि लामिछानेलाई धरौटीमा छोड्न निर्देशन

बुटवल,३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको हो।

अदालतले लामिछानेलाई २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत बुझाएपछि रिहा गर्न आदेश गरेको छ। उनी रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी प्रकरणमा पूर्पक्षका लागि थुनामा थिए।

यस मुद्दामा लामिछानेसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको थियो। चार भागमा विभाजन गरिएको उक्त बिगोमध्ये आफ्नो भाग बराबरको रकम लामिछानेले जमानतस्वरूप दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीले यसअघि रिहा गर्न अस्वीकार गरेको थियो।

सोही मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीले पनि बिगोबापतको जमानत पेस गरेका थिए। तर, प्रतिवादीहरूको भागमा कति बिगो कायम हुने भन्ने स्पष्ट नभएको भन्दै जिल्ला अदालतले दुवैलाई रिहा गर्न नमिल्ने आदेश दिएको थियो।

जिल्ला अदालतको आदेशविरुद्ध लामिछाने र जोशीले बिगोबमोजिमको रकम बुझाएर थुनामुक्त भई मुद्दा लड्न पाउने माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए। सो निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले दुवै मुद्दा एकैसाथ राखी धरौटीमा रिहा गर्न आदेश दिएको हो।

हाल रवि लामिछाने पूर्पक्षका लागि नख्खु कारागारमा रहेका छन् भने छविलाल जोशी भैरहवा कारागारमा छन्। अदालतको आदेशसँगै धरौटी रकम बुझाएपछि दुवै जना कारागारमुक्त हुनेछन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित