राष्ट्रिय दैनिक / नवलपरासी ,३ पुस पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा आयोजना गरिएको गाउँपालिका स्तरीय अन्तरविद्यालय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । सरावल गाउँपालिका वडा नं. ६ गडौरीस्थित महेन्द्र जनता माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगिताको समापन समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जन्मेजय यादवको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष चौधरीले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै स्थानीय तहबाट खेलकुद प्रतिभाको पहिचान र विकासमा निरन्तर लगानी गरिने प्रतिबद्धता व्यक्त गरे । उनले विद्यालयस्तरबाटै खेल संस्कृतिको विकास आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बासमति हरिजन, वडा नं. ६ का वडा अध्यक्ष छोटेलाल गुप्ता, वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मण चौधरी, शिक्षा शाखा प्रमुख प्रमोद यादव, उद्योग वाणिज्य संघ सरावलका अध्यक्ष सुशान्त शर्मा घिमिरे, वरिष्ठ उपाध्यक्ष बिरेन्द्र यादवलगायत स्थानीय जनप्रतिनिधि, शिक्षा क्षेत्रका अधिकारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । प्रतियोगितामा सरावल गाउँपालिकाभित्रका १७ वटा सामुदायिक तथा संस्थागत विद्यालयका छात्र–छात्राहरूले सहभागिता जनाएका थिए । एथलेटिक्स, कबड्डी, भलिबल लगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा महेन्द्र जनता माध्यमिक विद्यालय,गडौरी ९ स्वर्ण,५ रजत र ३ कास्य गरी जम्मा १७ पदकसहित गाउँपालिका प्रथम भएको हाे। त्यस्तै बसन्त माध्यमिक विद्यालय,बसन्तपुर ५ स्वर्ण, ६ रजत र ४ कास्य गरी जम्मा १५ पदकसहित गाउँपालिका द्वितीय भएको हाे । त्यस्तै जनता माध्यमिक विद्यालय,भुजहा ५ स्वर्ण, २ रजत र ९ कास्य गरी जम्मा १६ पदकसहित गाउँपालिका तृतीय भएको महेन्द्र जनता माध्यमिक विद्यालयको प्रधानाध्यापक श्रवण सहानीले जानकारी दिनुभयो । समापन समारोहमा विजयी विद्यालय तथा उत्कृष्ट खेलाडीहरूलाई ट्रफी,मेडल,पदक र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउनुका साथै अनुशासन, प्रतिस्पर्धात्मक भावना र आपसी सद्भाव विकासमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले बताएका छन् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।