काठमाडौं,३ पुस बागमती प्रदेश स्तरीय रूपमा इसिडी कक्षादेखि कक्षा १२ (प्लस टु) सम्म नेपालभाषा र तामाङ भाषा अध्यापन अनिवार्य गराउन नेपालभाषा अभियन्ताहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाबीर पुनको ध्यानाकर्षण गराएका छन् । नेपालभाषा अभियन्ताहरूले पुस २८ गते आइतबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री पुनलाई भेटेर प्रदेशभर लागू हुने गरी मातृभाषा शिक्षाको कार्यान्वयन गर्न माग गरेका हुन् । ध्यानाकर्षण कार्यक्रममा सुकुन्दा साहित्य पालाःका अध्यक्ष प्रशान्त डंगोल, सदस्य सुमितदास रञ्जितकार, नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जनलगायतको सहभागिता रहेको थियो । सहभागीहरूले नेपालको संविधानले प्रत्याभूत गरेको मातृभाषामा शिक्षा पाउने अधिकारबाट सातवटै प्रदेशका नागरिक वञ्चित भइरहेको अवस्थाप्रति मन्त्रीको ध्यानाकर्षण गराए । अभियन्ताहरूले प्रस्तुत गरेको तथ्यअनुसार, मनोवैज्ञानिक रूपमा मातृभाषामा शिक्षा दिँदा विद्यार्थीहरूले ३० देखि ५० प्रतिशत छिटो सिक्ने, ४० देखि ६० प्रतिशतभन्दा बढी विषयवस्तु आत्मसात गर्ने, स्मरणशक्ति २५ देखि ४० प्रतिशतसम्म वृद्धि हुने तथा विद्यालय छोड्ने (ड्रपआउट) दर २० देखि ३० प्रतिशतसम्म कम हुने कुरा प्रमाणित भइसकेको बताएका छन् । स्थानीय तहमा भइरहेको नेपालभाषा अध्यापन हाल काठमाडौं महानगरपालिकामा कक्षा १ देखि ८ सम्म नेपालभाषा अध्यापन भइरहेको छ । टोखा नगरपालिकामा वडा नं. २ र ३ का विद्यालयहरूमा कक्षा १ देखि ३ सम्म, ललितपुर महानगरपालिकामा कक्षा १ देखि ३ सम्म अध्यापन भइरहेको र आगामी दिनमा थप कक्षाहरूमा विस्तार गर्ने तयारी रहेको जानकारी गराइएको छ । यसैगरी कीर्तिपुर नगरपालिकामा कक्षा १ देखि ६ सम्म, शंखरापुर नगरपालिकामा कक्षा १ देखि नेपालभाषा अध्यापन सुरु भइसकेको छ भने चन्द्रागिरि नगरपालिकामा कक्षा १ देखि ३ सम्म अध्यापन सुरु गर्ने तयारी भइरहेको अभियन्ताहरूले जनाएका छन् । सबै विद्यालयमा लागू गर्न माग अभियन्ताहरूले उपत्यकाका सम्पूर्ण स्थानीय तहका निजी तथा सरकारी विद्यालयहरूमा नेपालभाषा विषय अनिवार्य रूपमा अध्यापन गराइनु पर्ने माग गरेका छन् । संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्ने सवालमा शिक्षा क्षेत्र परिवर्तनको प्रमुख आधार भएकाले एकल भाषा नीति थोपरिँदै आएको अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै, शिक्षामार्फत जनताको चेतनाको “तेस्रो नेत्र” खोल्ने काममा कर्मचारीतन्त्रको ढिलासुस्ती बाधक बनेको यथार्थसमेत मन्त्रीसमक्ष राखिएको थियो । नेपालभाषा मातृभाषा अभियन्ताहरूले उच्च तहसम्म नेपालभाषा अध्यापनले जीवनस्तर अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै, अमेरिकी नागरिक अधिकार आन्दोलनका नेता मार्टिन लुथर किङले पनि शिक्षा र सामाजिक चेतनाको विकासका लागि मातृभाषामै शिक्षा दिनुपर्नेमा जोड दिएको उदाहरण प्रस्तुत गरेका थिए । नेपालको संविधान, ऐन तथा बहुभाषिक शिक्षा नीतिअनुरूप मातृभाषा शिक्षा लागू गर्न नेपालभाषा अभियन्ताहरूले लामो समयदेखि आवाज उठाउँदै आएका छन् । करिब तीन महिना अघि पनि शिक्षामन्त्री पुनलाई केशर महलमा भेटेर ध्यानाकर्षण गराइएको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।