वीरगंज, ३ पुस । समाचार संकलनको क्रममा पर्साको जीराभवानी गाउँपालिकामा पत्रकार शैलेश साह गुप्तामाथि भएको दुव्र्यवहारको घटनाले प्रेस जगतमा आक्रोश बढेको छ । उक्त घटनाको विरोधमा आज प्रेस चौतारी नेपाल पर्साको टोलीले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयानाथ दाहालसमक्ष जाहेरी दर्ता गराउँदै दोषी कर्मचारीमाथि अविलम्ब कारबाहीको माग गरेको छ । प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्रको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको सञ्चारकर्मीहरूको टोलीले प्रजिअ दाहाललाई घटनाबारे जानकारी गराउँदै पत्रकारमाथि भएको दुव्र्यवहार प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको बताएको थियो । फेमस नेपाल सन्देश साप्ताहिकका प्रकाशक तथा प्रेस चौतारी नेपाल पर्साका सदस्य पत्रकार शैलेश साह गुप्ता गत बुधवार जीराभवानी गाउँपालिकामा समाचार संकलनका क्रममा पुगेका थिए । सो क्रममा कार्यालय समयमा कर्मचारीहरू अनुपस्थित रहेको दृश्य क्यामेरामा कैद गर्न खोज्दा गाउँपालिकाका कर्मचारी जितेन्द्र मिश्र र इन्द्रजीत हजरालगायतले अपशब्द प्रयोग गर्दै पत्रकारको मोबाइल फोन खोसी फोटोहरू डिलिट गरेको आरोप छ । घटनापछि जिल्ला प्रशासन कार्यालय पुगेको प्रेस चौतारी नेपाल पर्साको टोलीले दोषी कर्मचारीमाथि छानबिन गरी कडा कारबाहीको माग गरेपछि प्रजिअ दाहालले जीराभवानी गाउँपालिकाका सम्बन्धित कर्मचारीलाई मौखिक आदेश दिँदै मंगलवार बिहान ११ बजे सिसिटिभी फुटेजसहित जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित हुन निर्देशन दिएका छन् । साथै प्रजिअ दाहालले पत्रकारमाथि अभद्र व्यवहार गर्ने कर्मचारीमाथि कानुनअनुसार कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । जाहेरी बुझाउन पुगेको प्रतिनिधिमण्डलमा प्रेस चौतारी नेपाल पर्साका निरन्जन मिश्र, विजय (तुलसी) भण्डारी, किरण सत्याल, शैलेश गुप्ता, लक्ष्मी खरेल, राजन रौनियार, राजन सिंह, एसके चौरसिया, दिपेन्द्र बिसी, कन्हैया गुप्ता, रामजी यादव, मृत्युन्जय साह, अभिलाष गुप्ता, कृष्णा श्रीवास्तव, विजय साहलगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । नेपाल पत्रकार महासंघ पर्साको विज्ञप्ति यसैबीच, नेपाल पत्रकार महासंघ पर्सा शाखाले पनि सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ पर्साका सचिव विजयकुमार महतोद्वारा जारी विज्ञप्तिमा समाचार संकलनकै क्रममा सञ्चारकर्मीमाथि गरिएको अभद्र व्यवहारको कडा भत्र्सना गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि अविलम्ब कारबाहीको माग गरिएको छ । विज्ञप्तिमा नागरिकको सुसूचित हुने अधिकारको संरक्षण र सञ्चारकर्मीको सुरक्षाप्रति सरोकारवाला निकाय गम्भीर र संवेदनशील बन्नुपर्ने आवश्यकता औंल्याइएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।