Rashtriya Dainik

सरावलमा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड उद्घाटन, खेलकुद विकासका लागि लाखौँको अक्षयकोष घोषणा

उमेश बि.क / नवलपरासी ,२७ मंसिर

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा गाउँपालिका स्तरीय अन्तरविद्यालय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा उद्घाटन भएको छ।

सरावल गाउँपालिका वडा नं. ६ गडौरीस्थित महेन्द्र जनता माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार खेल उद्घाटन समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जन्मेजय यादवको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सुरु भएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष चौधरीले खेलकुदले विद्यार्थीलाई अनुशासन र राष्ट्रसेवामा प्रेरित कार्य गरेको बताउनुभयो । अध्यक्ष चौधरीले विद्यार्थीमा शारीरिक तन्दुरुस्ती, खेलमैत्री वातावरण निर्माण, नेतृत्व विकास तथा स्थानीयस्तरमै रहेका प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले निरन्तर रूपमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बासमति हरिजन, निवर्तमान उपाध्यक्ष उत्तमा राय, जिल्ला शिक्षा तथा समन्वय इकाई शाखा अधिकृत शुभाष चन्द गौतम, वडा नं. ६ का वडा अध्यक्ष छोटेलाल गुप्ता, वडा नं. ४ का वडा अध्यक्ष सुरेश यादव, नेपाली कांग्रेसका उपसभापति अनिल गाैड लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतियोगितामा सरावल गाउँपालिकाभित्रका १७ वटा विद्यालयका छात्र–छात्राहरू सहभागी छन्। भलिबल, कबड्डी तथा एथलेटिक्स अन्तर्गतका विभिन्न इभेन्टहरूमा छात्र र छात्राबीच प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगिता मंसिर २९ गतेसम्म सञ्चालन हुनेछ।

यसै अवसरमा वडा नं. ६ का वडा अध्यक्ष छोटेलाल गुप्ताले खेलकुद प्रवर्द्धनका लागि अक्षयकोष स्थापनामा रु १ लाख ५१ हजार प्रदान गर्ने घोषणा गर्नुभएको छ। यसअघि पनि उहाँले रु ५१ हजार हस्तान्तरण गरिसक्नुभएको थियो।

त्यस्तै समाजसेवी तथा सरावल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र यादवले रु १ लाख १ रुपैयाँ तथा UBI इट्टा उद्योगका सञ्चालक प्रमोद शाहले रु १ लाख १ सय अक्षयकोष स्थापनाका लागि सहयोग घोषणा गर्नुभएको छ।

सोही अवसरमा अक्षयकोष स्थापनाको घोषणा गर्ने समाजसेवी वीरेन्द्र यादव तथा वडा अध्यक्ष छोटेलाल गुप्तालाई सम्मानसमेत गरिएको थियो।

सरावलमा आयोजना गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति उत्साह बढाउनुका साथै स्थानीय खेल प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

विद्यालयका प्रधानाध्यापक श्रवण सहानीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक गोविन्द ढकालले गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित