राष्ट्रिय दैनिक / नवलपरासी ,२१ मंसिर पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–७ पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजना प्रमुख) महेन्द्र थापामाथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन्। आइतबार बिहान करिब साढे ११ बजेतिर ९/१० जनाको समूह कार्यालयमा पुगेर थापामाथि लेदो जस्तो देखिने कालो पदार्थ दलेको कर्मचारीहरूले बताएका छन्। आफूहरू नेकपा बहुमतबाट ‘जनकारबाही’ गर्न आएको भन्दै समूहले थापासँग दुव्र्यवहार गरेको थापाले बताएका छन्। ‘कालो पदार्थ दलेपछि उनीहरू नेकपा बहुमत जिन्दावाद भन्दै बाहिरिए,’ थापाले बताए। घटनाबारे उनले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराइसकेका छन्। यसैबीच घटनापछि नेकपा बहुमत निकट कम्युनिस्ट युवा संगठनले विज्ञप्ति जारी गर्दै थापामाथि छ वटा आरोप लगाउँदै कारबाही गरेको दाबी गरेको छ। देशभर सञ्चालन भइरहेको भ्रष्टाचारविरुद्धको ‘जनकारबाही’ अभियानअन्तर्गत थापामाथि कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा थापामाथि बर्दघाट नगरपालिका चिसापानी क्षेत्रमा स्थानीयले संरक्षण गर्दै आएको जग्गा व्यक्तिगत कम्पनीलाई बिक्री गरेको, आफ्ना परिवारका सदस्यलाई राष्ट्रिय आवास कम्पनीको केन्द्रीय कार्यालयमा जागिर खुवाएको लगायतका आरोप लगाइएको छ। संगठनका ५ नम्बर ब्यूरो इन्चार्ज मिलन थापाको नामबाट जारी विज्ञप्तिमा कम्पनीमार्फत बिक्री गरिएका जग्गाको अभिलेख नराखी करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको तथा जग्गा बिक्री प्रक्रियामा स्थानीयसँग घुस माग्ने गरेको दाबी छ। नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाको नेतृत्वमा रहेको संगठन हो। बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी (बहुमत) बाट अलग भएपछि बाँस्तोलाले नयाँ संगठन गठन गरेका हुन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।