राष्ट्रिय दैनिक / काठमाडौं ,१६ मंसिर विश्वका विभिन्न मुलुकमा आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ। मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा भर्ती गरिनेजस्ता दासत्वका आधुनिक स्वरूपबिरुद्ध विश्वव्यापी जागरण फैलाउने यस दिवसको उद्देश्य हो। यो दिवसको स्थापना सन् १९४९ डिसेम्बर २ मा संयुक्त राष्ट्रसङ्घ महासभाले मानव बेचबिखन तथा यौन शोषण रोकथाम सम्बन्धी महासभा सङ्कल्प पारित गरेको दिनको सम्झनामा गरिएको हो। त्यसयता विश्वभर दासत्व र आधुनिक शोषण अन्त्यका लागि विभिन्न कानुनी तथा सामाजिक अभियानहरू सञ्चालन हुँदै आएका छन्। संयुक्त राष्ट्रसङ्घका अनुसार आज पनि विश्वभर ५ करोड मानिस आधुनिक दासत्वको जोखिममा छन्। तीमध्ये उल्लेख्य संख्या महिला र बालबालिकाको छ, जसलाई जबरजस्ती श्रम, घरेलु काम, निर्माण, कृषि, वस्त्र उद्योगदेखि यौन शोषणसम्मका क्षेत्रमा लगाइने गरेको पाइएको छ। जातीय विभेद, गरीबी, सामाजिक बहिष्कार र संरचनागत असमानताले केही समुदायहरू अझै पनि उच्च जोखिममा रहेको देखिन्छ। प्रवासी तथा अभिव्यक्तिहीन श्रमिकहरू सर्वाधिक दुरुपयोगमा पर्ने समूहका रूपमा चिनिएका छन्। यसैबीच, अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) ले दासत्व उन्मूलनका लागि सरकार, नागरिक समाज, सुरक्षा निकाय तथा समुदायबीच समन्वय आवश्यक रहेको बताएको छ। संस्थाले पीडितको उद्धार, पुनःस्थापना, न्याय सुनिश्चितता र दीर्घकालीन सुरक्षा व्यवस्था प्रभावकारी रूपमा लागू गर्न सबै देशलाई आग्रह गरेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।