बुटवल, २१ कात्तिक । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले अब कार्यकर्ताको वास्तविक परीक्षा बैठक र कोठामा होइन, सडकमा हुने बताएका छन् । लुम्बिनी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ताले आन्दोलन र जनताको पक्षमा उभिएर आफ्नो जिम्मेवारी प्रमाणित गर्नुपर्ने बताए । उनका अनुसार प्रतिगमनविरुद्धको आन्दोलन र प्रतिनिधिसभा पुनःस्थापनाका लागि हुने संघर्ष कार्यकर्ताको परीक्षणको घडी हो । “अब परीक्षा वक्तृत्वमा होइन, व्यवहारमा हुन्छ । जनताको अधिकार र लोकतन्त्रको रक्षा गर्न अग्रपंक्तिमा उभिन सक्नुपर्छ,” पौडेलले भने । उपाध्यक्ष पौडेलले आसन्न ११ औं राष्ट्रिय महाधिवेशनले केवल एमालेको मात्र नभई सिंगो राष्ट्रको भविष्य निर्धारण गर्ने बताए । उनले यो महाधिवेशनलाई समृद्धि र समाजवादको यात्रासँग जोडिएको ऐतिहासिक अवसरको रूपमा व्याख्या गरे । “हामीले देशलाई स्थायित्व, विकास र राष्ट्रिय एकताको बाटोमा अघि बढाउने जिम्मा लिएको छौं,” उनले जोड दिए । उनले दशौं महाधिवेशनले तोकेको मापदण्ड र पद्धतिलाई कायम राख्दै प्रतिनिधि चयन गर्नुपर्नेमा पनि जोड दिए । पौडेलले पार्टीभित्र शुद्धिकरण र संगठन सुदृढीकरणको आवश्यकता औंल्याउँदै अनुशासन, एकता र विचारमा दृढता देखाउन आग्रह गरे । हाल एमाले विभिन्न पक्षबाट प्रहारको निशाना बनेको उल्लेख गर्दै पौडेलले त्यसलाई परास्त गरेर पार्टीलाई अझ सबल र जनमुखी बनाउन सबै स्तरका नेताकार्यकर्ताले भूमिका निर्वाह गर्नुपर्ने बताए । “पार्टीमाथि भएका हरेक प्रहारलाई प्रतिरोध गर्दै हामीले जनताको भरोसा पुनःस्थापित गर्नुपर्छ,” उनले भने । बैठकमा उनले आगामी राजनीतिक कार्यक्रम, संगठन सुदृढीकरण र ११ औं महाधिवेशन तयारीका विषयमा समेत निर्देशन दिएका थिए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।