डढेलोले खाएको जङ्गल जस्तो
उदास र फुङ्ग छ
सानीमैयाँको जीवन ।
सुस्त श्रवण्की सानीमैयाँ
भूँइचालोमा आमाबाबु गुमाएर
माछा मार्न गएको भाइ
नदीले बगाए पछि
नितान्त एक्लिएर
शान्तिको खोजिमा भौतारिँदै
विश्रान्ति मन्दिरमा शरणागत छे ।
उसको नागरिकता नभएकै कारण
उसलाई राहत दिइएन
कयौँ छाक भोक खपेर
घायल शरीर घसार्दै
उसले सडक चहारी
सडकमा पनि शान्ति थिएन
उजस्ता कयौँ अनाथहरू
सडक पेटीमै रात कटाउँथे ।
सानीमैयाँ जिन्दगी सोच्ता सोच्तै
बाआमा र भाइको सम्झनाले बहकिएपछि
झोक्राएर दिन कटाउँथी
बाआमा र भाइको चिहान
कोट्याउँजस्तो लाग्थ्यो
सम्हालिन नसक्दा
चिहानमाथि घोप्टो परी
डाको छोडेर रुन्थी
उसको रुवाइ
हावामा विलीन भएर जान्थ्यो ।
आज वार्षिकी हो
उसले चिहानमा
मैनबत्ति सल्काई
शिरपट्टि
फूलका थुँगा राखेर
बाआमा र भाइलाई स्मरण गरी
दुई थोपा श्रद्धाका आँसु खसाएर
भावविह्वल हुँदै प्रार्थना गरी ।
उसको यात्राको कुनै गन्तव्य छैन
ऊ निरुद्देश्य हिँडिरही
मठ मन्दिर चहारी
गुम्बा, मस्जिद, चर्च धाई
उसले शान्ति प्राप्त गर्न सकिन
उ जिउँदै मरी
मुर्दा मन घसारेर
हराएको जिन्दगी खोज्दै
मदन सरको सहयोगमा
सानीमैयाँ
मुक्ति प्राप्त गर्ने भनी
विश्रान्ति मन्दिर आइपुगेकी हो ।
समयले कता बगाउँछ ?
सानीमैयाँका जीवनकथाहरू
लेखिएनन् भने
उनीहरूको मुक्ति असम्भव छ ।
✍️ प्रकाशचन्द्र खतिवडा
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

