Rashtriya Dainik

गर्मीको कहरमाथि विद्युत् संकट, पश्चिम नवलपरासीका उपभोक्ताको चर्को गुनासो

राष्ट्रिय दैनिक / नवलपरासी ,१४ असार

प्रचण्ड गर्मीले जनजीवन कष्टकर बनिरहेका बेला पश्चिम नवलपरासीमा केही दिनयता बारम्बार विद्युत् आपूर्ति अवरुद्ध हुन थालेपछि सर्वसाधारणले चर्को सास्ती भोग्नुपरेको छ।

दिनभर छिनछिनमै विद्युत् जाने र रातिको समयमा समेत घण्टौँसम्म लाइन नआउँदा नागरिकको दैनिक जीवन अस्तव्यस्त बनेको छ।

सरावलका स्थानीय राजेन्द्र बि.क.ले बिना कुनै पूर्वसूचना पटक–पटक विद्युत् काटिँदा घरमा बस्नै कठिन भएको बताए। अत्यधिक गर्मीका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीहरू सबैभन्दा बढी प्रभावित भएको उनको भनाइ छ। रातिको समयमा समेत घण्टौँ विद्युत् नहुँदा सुत्न नसक्ने अवस्था सिर्जना भएको उनले गुनासो गरे।

यस्तै, स्थानीय जन्मेजय यादवले अनियमित विद्युत् आपूर्तिका कारण घरायसी काम,बालबालिकाहरुकाे अध्ययन र साना व्यवसाय प्रभावित भएको बताए। पटक–पटक आउने–जाने विद्युत्का कारण टेलिभिजन, फ्रिज, कम्प्युटरलगायत विद्युतीय उपकरण बिग्रिने जोखिम बढेको भन्दै उनले सम्बन्धित निकायले समस्या समाधानमा गम्भीरता देखाउनुपर्ने बताए।

अर्का स्थानीय तथा व्यवसायिक कुखुरा पालक जहिर खाँले विद्युत् अनियमित हुँदा आफ्नो कुखुरा फार्ममा ठूलो असर परेको बताए। उनले भने, “गर्मीका बेला फार्ममा पंखा, भेन्टिलेसन र पानी आपूर्ति नियमित सञ्चालन हुनुपर्छ। तर बारम्बार लाइन जाँदा कुखुराहरू गर्मीले छटपटिन्छन्, उत्पादन घट्ने र ठूलो आर्थिक क्षति हुने जोखिम बढेको छ।”
स्थानीयवासीका अनुसार विद्युत् अवरुद्ध हुँदा इन्टरनेट सेवा, खानेपानी आपूर्ति, साना उद्योग तथा व्यवसायसमेत प्रभावित भएका छन्। लामो समयसम्म विद्युत् नहुँदा दैनिक कामकाजमा समस्या भएको उनीहरूको भनाइ छ।

उपभोक्ताहरूले विद्युत् अवरोधको कारणबारे समयमै कुनै सूचना नदिइने गरेको गुनासो गरेका छन्। यदि मर्मत, प्राविधिक समस्या वा अन्य कारणले लाइन काट्नुपर्ने अवस्था भए त्यसबारे पूर्वजानकारी गराउनुपर्ने उनीहरूको माग छ।

चरम गर्मीका बेला बारम्बार हुने विद्युत् अवरोधले नागरिकको स्वास्थ्य, शिक्षा, व्यवसाय र आर्थिक गतिविधिमा प्रत्यक्ष असर परेको भन्दै स्थानीयले नेपाल विद्युत् प्राधिकरणसँग तत्काल नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न आग्रह गरेका छन्। अन्यथा समस्या समाधानका लागि थप दबाबमूलक कार्यक्रम अघि बढाउने चेतावनीसमेत स्थानीयले दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित