राजन कुमार बानिया/पर्सा ,२८ असोज शुभ दीपावलीको अवसरमा पर्साको जगरनाथपुर गाउँपालिकाले अध्यक्षस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ। मेघराज उपाध्याय क्रिकेट मैदान, मदुवाहामा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलम र जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले संयुक्त रूपमा फिता काटी गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आलमले खेलप्रतिको उत्साहप्रति खुशी व्यक्त गर्दै भन्नुभयो, “गाउँका युवामा देखिएको जोश र सहभागिताले खेल क्षेत्रको उज्वल भविष्य देखाएको छ। म स्वयं बाल्यकालदेखि क्रिकेटमा रुचि राख्ने खेलाडी हुँ र बॉलरको रूपमा पनि खेल्थें। खेलले शारीरिक र मानसिक दुवै रूपमा मानिसलाई सबल बनाउँछ।” उहाँले आगामी दिनमा स्थानीय प्रतिभाहरू नेपाल राष्ट्रिय टिमसम्म पुग्ने विश्वास व्यक्त गर्दै सबै टिमहरूलाई प्रतियोगिताको सफलताको शुभकामना दिनुभयो। उद्घाटन कार्यक्रमपछि उप–प्रमुख आलमले ब्याटिङ गर्दै खेलको शुभ आरम्भ गर्नुभएको थियो। कार्यक्रम जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष बबिता सिंह, प्रमुख प्रशासनिक अधिकृत सन्देश यादव, नेपाली कांग्रेस पर्साका सह–सचिव नवीन सिंह, वडा अध्यक्ष बिहारी महतो नुनिया, वडा अध्यक्ष अयोध्या पटेल, नेता सन्तोष चौरसिया लगायतका जनप्रतिनिधि, खेलप्रेमी तथा स्थानीयको उपस्थिति रहेको थियो। गाउँपालिकाभरिका टिमहरू सहभागी भएको प्रतियोगितामा आजको खेल वडा नं. २ र वडा नं. ६ बीच भएको थियो, जसमा वडा नं. ६ विजयी भएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।