काठमाडौं :गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपश्चात् नेपाली कांग्रेस अहिले नेतृत्व संक्रमणको संवेदनशील मोडमा पुगेको छ। करिब एक महिनासम्म स्वास्थ्य उपचारमा रहेका पार्टी सभापति शेरबहादुर देउवा स्वास्थ्यलाभपछि पुनः सक्रिय हुन थालेका छन्। पार्टीभित्र व्यापक छलफलपछि देउवाको आह्वानमा मंगलबार केन्द्रीय कमिटी बैठक बोलाइएको छ। पारिवारिक स्रोतका अनुसार स्वास्थ्यले साथ दिएसम्म सभापति देउवा स्वयं बैठकमा सहभागी भएर सम्बोधन गर्ने तयारीमा छन्। बैठक आइतबारका लागि तय गरिएको भए पनि पदाधिकारीहरूले तयारी अपूरो भएको भन्दै दुई दिन पछाडि सारेका हुन्। अब सबैको ध्यान देउवाको निर्णयतर्फ केन्द्रित भएको छ — उनी कार्यकाल सकिँदासम्म सभापतिका रूपमा रहन्छन् कि कार्यवाहक तोकेर अवकाश लिन्छन् भन्ने। देउवाको दोस्रो कार्यकाल आगामी दुई महिनाभित्र समाप्त हुँदैछ। पार्टी विधानअनुसार विशेष परिस्थितिमा मात्रै एक वर्ष थप्न सकिने व्यवस्था छ। देउवा निकट नेताहरूका अनुसार उनी कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिने तयारीमा छन्। जेन–जी विद्रोहपछि पुराना दलमा नयाँ नेतृत्वको आवश्यकता तीव्र रूपमा महसुस भएको अवस्थामा देउवालाई आफ्नै कार्यकालभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने वा कार्यवाहक नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने चुनौती आएको कांग्रेस स्रोत बताउँछ। हाल उपसभापति खड्काले नै पार्टीका पदाधिकारी बैठकदेखि कार्यसम्पादन समिति बैठकसम्म अध्यक्षता गर्दै आएका छन्। उनले शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गगन थापा, विश्वप्रकाश शर्मा लगायत सबै धारका नेताहरूसँग निरन्तर भेटघाट र छलफल गरिरहेका छन्। पार्टीका वरिष्ठ नेता सिटौलाले पनि देउवाले विश्वासिला उपसभापतिलाई कार्यवाहक तोक्दा नै उचित हुने बताएका छन्। अर्का नेता शशांक कोइरालाले भने देउवाले अहिलेको केन्द्रीय कमिटीलाई विघटन गरेर कार्यवाहक सभापति तोकी आगामी मंसिरमा महाधिवेशन गर्ने सुझाव दिएका छन्। पार्टीका प्रवक्ता प्रकाशशरण महतका अनुसार आगामी केन्द्रीय कमिटी बैठकको मुख्य एजेन्डा नियमित महाधिवेशनको मिति तय गर्ने र बदलिँदो राजनीतिक परिदृश्यमा पार्टीलाई एकजुट कसरी बनाउने भन्ने हुनेछ। जेन–जी आन्दोलनपछि पुरानो नेतृत्वमाथि उठेको प्रश्न र देउवाको स्वास्थ्य अवस्थाले नेपाली कांग्रेसलाई अबको यात्रामा नेतृत्व संक्रमणको दिशातर्फ अघि बढाएको देखिन्छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।