Rashtriya Dainik

नारायणीमा बगेर आएका दाउरा बटुल्न सुस्ताका स्थानीयको भीड

उमेश बि.क / नवलपरासी,२० असोज

नारायणी नदीमा पानीसँगै बगेर आएका दाउरा जम्मा गर्न पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ ठाडिघाट किनारमा स्थानीयहरूको भीड लागेको छ।

पानी घटेपछि नदी किनारमा बचेका दाउरा निकाल्न शनिबारदेखि मंगलबारसम्म सयौँ स्थानीय बिहानैदेखि साँझसम्म व्यस्त देखिएका छन्। बालबालिकादेखि युवादेखि ज्येष्ठसम्म सबै उमेरका मानिस दाउरा सङ्कलनमा जुटेका थिए। कोही घाममा पसिना बगाउँदै, कोही पानीमा रुझ्दै नदीबाट दाउरा तानिरहेका देखिन्थे।

स्थानीयले नदीबाट दाउरा निकाल्न ‘लौरो’ (लामो काठको हुकजस्तो उपकरण) प्रयोग गर्ने गर्छन्। सुस्ता–५ महलबारीका सन्तोष कुमार हरिजनका अनुसार नदीले बगाएर ल्याएका दाउराले वर्षभरिको इन्धनको जोहो हुन्छ।
“राम्रो पानी आयो भने यो हाम्रो लागि सुनौलो अवसर हो,” उनले भने, “ग्यास किन्ने खर्च पनि बच्छ।”

त्यसैगरी बेलवानीकी अकली लोनीयाले दुई सन्तानसहित दाउरा सङ्कलनमा भाग लिइन्।
“नदी बगिरहेको बेला दाउरा निकाल्न सजिलो छैन, तर नगरेर पनि हुँदैन,” उनले भनिन्। “यो दाउराले वर्षभरि खाना पकाउन सजिलो हुन्छ।”

बेलवानीकै बुझावन प्रजापतिले भने यस वर्ष पहिलेका वर्षजति दाउरा पाउन नसकिएको बताए। “पाएजति दाउराले भने काम चल्छ,” उनले भने।

प्राय पानी परेको समयमा बिहान सुस्ताका स्थानीय सपरिवार नारायणी किनारमा पुगेर दाउरा जम्मा गर्न जुट्ने गर्छन्। नदीले बगाएर ल्याएका यी दाउराले उनीहरूको दैनिकी सजिलो बनाइदिएको छ — र यसैसँग उनीहरूको वर्षभरिको भान्सा पनि तत्ने तयारीमा छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित